३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मधेशका सहिदहरु नेताका भर्याङ मात्र भए ः सहिदका बुवा राजकुमार राजवंशी


९ मंसिर २०७४, शनिबार  

0
Shares

????????????????????????????????????

विराटनगर/ मधेस आन्दोलनका सहिदका परिवारले मधेसवादी दल सत्तास्वार्थमा लागेको गुनासो गरेका छन् । मधेस आन्दोलनका क्रममा २०६३ साल माघ २४ गते ज्यान गुमाएका निर्मल राजवंशीका बुबा राजकुमार राजवंशी नेताले सहिदलाई सत्तासम्म पुग्ने भर्याङमात्र बनाएको गुनासो गरेका हुन् । बिहीबार कटहरी गाउँपालिका–२ स्थित आफ्नै घरमा भेटिएका राजकुमारले भने– ‘सहिदले नेतालाई ठाउँमा पुर्याए तर उनीहरूले भनें कुर्सीका लागि फुटाए ।’
मधेसवादी दलले मधेस आन्दोलनको केही समयपछि नै सहिद परिवारलाई माया मारेको उनको भनाइ छ । संविधानसभा निर्वाचनमा सहिद परिवारका तर्फबाट समानुपातिक उम्मेदवारको सूचीमा नाम राख्ने आश्वासन दिएका नेताहरू फर्केर अझैसम्म नआएको उनको गुनासो छ । मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका निर्मलको सम्झनामा कटहरी चौकमा सालिक राखिएको छ । सालिक राख्नेबाहेक दलका नेताले सहिद परिवारलाई केही गर्न नसकेको उनको भनाइ छ ।
आन्दोलनमा आफ्नो १९ बर्षे छोरा गुमाएका उनले अन्य तीन छोराछोरीलाई पढाउन आफ्नै खर्च गर्नु परेको बताए । ‘छोराछोरीको पढाइका लागि केही सहुलियत हुन्छ कि भनेर धेरै ठाउँ पुगें’ उनले भने ‘तर नहुने भनेपछि आफ्नै खर्च गरेर पढाएँ ।’ छोरोछोरीलाई दुःख गरेर पढाएपनि जागिर पाउन भने गाह्रो परेको उनको दुखेसो छ ।
छोराछोरी बेरोजगार
सामान्य कृषि पेसा गर्दै आएका उनी छोराछोरीलाई बढाए पनि जागिर दिलाउन नसकेको गुनासो गर्छन् । चार सन्तानमध्ये निर्मलको मृत्यु भएपछि उनले जेठी छोरी पवित्रालाई स्नातक, कान्छा छोरा विमल राजवंशीलाई सीएमए (आयुर्वेद) र अर्की छोरी कवितालाई जेटिए पढाएका छन् । अध्ययन पूरा गरेका छोराछोरीले रोजगार नपाएको उनको गुनासो छ ।
सहिद परिवारलाई राज्यले सहजरूपमा रोजगारीको व्यवस्था गर्नुपर्ने भएपनि रोजगारीका लागि आग्रह गर्दा मधेसवादी दलका नेताले वास्ता नगरेको उनले बताए । आफ्नो र दाजुको गरी तीन बिघा जग्गामा खेती गर्दै आएका उनी कृषिले फाइदा नहुने भएकाले छोराछोरीलाई जागिर लगाउन चाहन्छन् । तर छोराछोरीको रोजगारीमा मधेसवादी नेता मौन बसेको उनको गुनासो छ ।
नेतृत्वकर्ता नै अर्कै पार्टीमा
२०६३/०६४ मा आयोजित मधेस आन्दोलनको नेतृत्वकर्ता थिए उपेन्द्र यादव र विजयकुमार गच्छदार । मधेस आन्दोलन गर्दा सँगै रहेका उनीहरु सत्तास्वार्थका कारण टुटफुटको चपेटामा परे । पार्टी फुट्ने क्रमस“गै मधेस मुद्दा पनि ओझेलमा पर्दै गएको सहिद परिवारको बुझाइ छ ।
आन्दोलनको एक दशक पूरा भए पनि नेतृत्वकर्ताको कुर्सीमोहका कारण मुद्दा ओझेलमा परेको उनको गुनासो छ । सत्तास्वार्थका कारण पार्टी फुटाएका विजयकुमार गच्छदार फोरम लोकतान्त्रिक हुँदै पुनः कांग्रेसमै आइपुगेका छन् ।
त्यसो त पार्टी फुटको असर केन्द्रमा मात्र सीमित छैन, स्थानीयस्तरमा पनि उत्तिकै छ । जिल्ला तहमा मधेस आन्दोलनका नेतृत्वकर्तामध्ये मृत्युञ्जय झा र भीमराज राजवंशी अग्रस्थानमा थिए । मधेस आन्दोलनका अगुवा उनीहरू आफैं पार्टी परिवर्तन गरी एमालेमा सक्रिय छन् । उनीहरू जस्तै पार्टीको केन्द्र र जिल्ला तहको नेतृत्व सम्हालेका अधिकांश नेताले पार्टी परिवर्तन गरेका छन् ।
मधेसवादी पार्टी छाडेर एमालेको राजनीतिमा सक्रिय मृत्युन्जय झा मधेस आन्दोलनमा सहिद भएकाहरूको सपना पूरा हुने दिन अब टाढा नरहेको बताउँछन् । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि बन्ने सरकारले सहिद परिवारलाई प्रोत्साहनको योजना ल्याउने उनको भनाइ छ । उनी सहिद परिवारको उच्च महात्वांक्षाका कारण पनि असन्तुष्टि रहेको बताउँछन् । ‘सहिद परिवारलाई बिर्सेका छैनौं’ उनी भन्छन्– ‘सहिद परिवारमात्र होइन सम्पूर्ण जनताको आधारभूत सवाल अब सम्बोधन हुन्छ ।’

हरि अधिकारीबाट

प्रकाशित मिति : ९ मंसिर २०७४, शनिबार  ११ : २१ बजे