४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

यसरी हुँदैछ मोरङमा कांग्रेसको उम्मेदवारी


६ कार्तिक २०७४, सोमबार  

0
Shares

election-2-300x169
विराटनगर/ दोस्रो चरणमा आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार लगभग निश्चित भएका छन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा कांग्रेसले क्षेत्र नं ५ बाहेक सबै क्षेत्रमा प्रतिनिधिसभामा आफ्नै उम्मेदवार उठाउने लगभग निश्चित भएको छ । चुनावी तालमेल भएको खण्डमा क्षेत्र नं ५ मा कांग्रेसले संघीय समाजवादी फोरमका उम्मेदवारलाई सघाउने विषयमा पार्टी नेतृत्वमा छलफल चलिरहेको बताइएको छ ।
मोरङको क्षेत्र नं १ मा कांग्रेसका मोरङ सभापति एवं निवर्तमान सांसद डिकबहादुर लिम्बूले टिकट पाउने पक्कापक्की छ । गत संविधानसभा निर्वाचनमा उनले एमालेका घनश्याम खतिवडा र माओवादी केन्द्रका नेता बर्षमान पुनलाई पराजित गरेका थिए । अघिल्ला संविधानसभा चुनावमा ९ नं क्षेत्र रहेको सो क्षेत्रमा अहिले एमाले र माओवादी केन्द्रबीच गठबन्धनले एकल उम्मेदवार दिंदैछन् । जसका कारण सो क्षेत्रमा वामगठबन्धन बलियो हुने आँकलन गरिएको छ । एमाले र माओवादी केन्द्र सो क्षेत्रमा आ–आफ्नो दावी प्रस्तुत गर्दै आएका छन् । एमालेबाट घनश्याम खतिवडा र माओवादी केन्द्रबाट कुशल लिम्बू सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका दावेदार देखिएका छन् ।
यसैगरि क्षेत्र नं २ मा नेपाली कांग्रेसले केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाललाई अघि सार्ने तयारी गरेको छ । उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा अामोद प्रसाद उपाध्याय उम्मेदवार थिए । यसपटक सुजता कोइराला उम्मेदवार बन्ने चर्चा चलेपनि उनले आफू प्रत्यक्षतर्फ चुनाव नउठ्ने जनाएपछि कांग्रेसले रिजाललाई सो क्षेत्रमा अघि सारेको हो । संविधानसभामा लगातार दुईपटक समानुपातिक सभासद बनिसकेका रिजाल सभासद् बन्न प्रत्यक्ष चुनाव जित्नुपर्ने भएकाले उनी क्षेत्र नं २ मा केन्द्रीत भएका हुन् । गत संविधानसभा निर्वाचनमा उपाध्यायलाई करिब ३ हजार मत अन्तरले पराजित गर्दै एमालेका मोरङ सचिव ऋषिकेश पोखरेलले सो क्षेत्रमा चुनाव जितेका थिए । एमालेले यस पटक पनि पोखरेललाई नै उम्मेदवार बनाउने निश्चित जस्तै छ ।
मोरङको क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट सुनिल शर्मा उम्मेदवार हुने भएका छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक शर्मा पहिलो पटक प्रत्यक्ष राजनीतिमा होमिन लागेका हुन् । गत संविधानसभा निर्वाचनमा कांग्रेसका दिलिप गच्छदारले जितेको सो क्षेत्र पछिल्लो संरचनामा निकै फेरबदल भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाममा वाम गठबन्धन बलियो देखिएको सो क्षेत्रमा एमालेले भानुभक्त ढकाललाई उम्मेदवार बनाउने तयारी गरेको बुझिएको छ । उनी नभए गुरु बराल सो क्षेत्रमा चुनाव लड्ने बताइएको छ ।
मोरङको क्षेत्र नं ४ मा कांग्रेसबाट महेश आचार्यले उम्मेदवारी पाउने निश्चित छ । यसअघिका चुनावमा आचार्यले लगातार जित्दै आएको पुरानो क्षेत्र नं ६ मा हेरफेर गरि अहिले क्षेत्र नं ४ बनेको हो । सो क्षेत्रबाट बाम गठबन्धनबाट एमाले महेश रेग्मीले टिकट पाउने सम्भावना छन् । तर आचार्यको तुलनामा रेग्मी कमजोर उम्मेदवार रहेको बताइन्छ ।
क्षेत्र नं ५ मा कांग्रेसबाट अमृत अर्याल एकल उम्मेदवार छन् । तर संघीय समाजवादी फोरमसँग चुनावी तालमेल भएको खण्डमा सो क्षेत्र कांग्रेसले छोडनुपर्ने अवस्था हुनसक्छ । कांग्रेससँग तालमेल भए फोरमबाट पार्टी अध्यक्ष उपेन्द्र यादव सो क्षेत्रबाट चुनाव उठ्ने र अर्यालले टिकट नपाउने सम्भावना पनि त्यतिकै छ । यादवले चुनाव जितेको सुनसरी क्षेत्र नं ४ मा यसपटक कांग्रेसले केन्द्रीय सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । कार्कीले त्यहाँबाट टिकट पाए यादवलाई मोरङ ५ मै उठाउने सम्भावना छ । गत संविधानसभा निर्वाचनमा अर्यालले जितेको क्षेत्र नं ५ मा अहिले निकै हेरफेर भएको छ ।
क्षेत्र नं ५ मा पर्ने विराटनगर महानगरपालिकामा पर्ने दक्षिणी क्षेत्रका अधिकांश वडामा स्थानीय चुनाव फोरमले जितेको थियो । माओवादी केन्द्रका शिवकुमार मण्डलले चुनाव जितेको रंगेलीतिरको केही भाग पनि क्षेत्र नं ५ मै परेको छ । जसका कारण सो क्षेत्र कांग्रेसका लागि त्यति सहज छैन । वाम गठबन्धनबाट सो क्षेत्रबाट एमाओवादी केन्द्रका शिवकुमार मण्डल उम्मेदवार हुने लगभग निश्चित छ।
यसैगरि क्षेत्र नं ६ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला उम्मेदवार बन्दैछन् । सो क्षेत्रमा वाम गठबन्धनबाट एमालेले लालबाबु पण्डितलाई अघि सार्ने बताउँदै आएको छ । वामगठबन्धन भएपनि सो क्षेत्रमा उनीहरु कमजोर देखिन्छन् । तत्कालिन लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार कांग्रेसमा प्रवेश गरेपछि सो क्षेत्रमा कांग्रेस अझ मजबुत देखिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७४, सोमबार  १२ : ०७ बजे