१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

स्वास्थ्य विमा शुरु


१६ भाद्र २०७४, शुक्रबार  

0
Shares

गौरादह / झापाको गौरादह नगरपालिका स्थित स्कुलचौनमा सामाजिक स्वास्थ्य विमा सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महारानी झोडा स्वास्थ्य चौकीले आयोजना गरेको कार्यक्रममा गौरादह नगरपालिका वार्ड नं. ४ र ५ भित्रका जनप्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षक, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, संघसंस्थाका प्रतिनिधिहरुसहित ५० जनाको सहभागिता रहेको थियो । गरिब तथा विपन्न परिवारका साथै सर्वसाधारण र सबै नागरिकहरुलाई स्वास्थ्यमा पहुच पुऱ्याउने उद्येश्यले नेपाल सरकारले विगतमा १५ जिल्लामा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरेको र सय वर्ष झापासहित ७ जिल्लामा विमा कार्यक्रम थप गरिएको महारानीझोडा स्वास्थ्य चौकी प्रमुख सुरेश वहादुर खड्काले जानकारी गराए । कार्यक्रमको सहजीकरण गर्दै खड्काले स्वास्थ्य विमा अन्तर्गत प्रति परिवारमा ५ जना सम्मलाई वर्षको २५ सयमा ५० हजार सम्मको नि:शुल्क उपचार पाउने बताए । स्वास्थ्यकर्मी गोविन्द वहादुर श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्दै यो सेवा प्रत्येक विमा गरिएको नागरिकले नेपालका सबै सरकारी अस्पतालबाट पाउने र झापाको सन्दर्भमा सरकारी अस्पतालसाथै दमकस्थित आम्दा अस्पताल, विर्तामोडको विएमसी अस्पताल र भद्रपुरको ओम साई पाथिभरा अस्पतालबाट सुविधा लिन सक्ने बताए । स्कुलचौन माविको सभा हलमा सम्पन्न कार्यक्रमको सभापति वार्ड नं. ४ का वाड अध्यक्ष मणिन्द्र कार्की रहेका थिए । कार्यक्रममा गौरादह नगरपालिकाका मेयर रोहित कुमार साह र स्कुलचौन माविका प्रअ बाबुराम भण्डारीले स्वास्थ्य विमा कार्यक्रमले सर्वसाधारणका साथै सबै नागरिकलाई उपचार गराउन सहयोग पुग्ने र विमा गरी सुलभ उपचारको सेवा लिन सबै नागरिकलाई सेवा लिन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७४, शुक्रबार  ११ : ५२ बजे