३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

देशभर स्ववियु चुनाव हुँदै, ६१ आंगिकमध्ये ३७ क्याम्पसमा चुनाव नहुने


१८ फाल्गुन २०७३, बुधबार  

0
Shares

jhapa 1
गौरीगञ्ज / आठ बर्षपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंगिक र सम्वन्धन प्राप्त क्याम्पसहरुमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ। फागुन १४ गतेका लागि तय भएको चुनाव विद्यार्थी संगठनको आग्रहमा त्रिविले सारेको थियो ।

स्ववियु निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता भईसकेका र विवाद नभएका क्याम्पसमा निर्वाचन विहानबाट शुरु भएको छ। देशभरका दुई सय ५० क्याम्पसमा निर्वाचन गर्न लागिएको हो।

निर्वाचन हुने क्याम्पसमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

राजधानीका ३८ मध्ये ३० क्याम्पसमा विवादका कारण चुनाव हुनेछैन। राजधानीका कैलाशकुट बहुमखी क्याम्पस, महाराजगन्जस्थित नसिंङ क्याम्पस, थापाथली क्याम्पस, पुल्चोक इन्जिनियरिङलगायत ८ क्याम्पसमा चुनाव हुँदैछ।

चुनाव विहान ८ बजेदेखि साँझ ५ बजेसम्म गर्ने आचारसंहितामा उल्लेख भए पनि स्थानीय क्याम्पसका विद्यार्थी संगठनको समझदारीमा चुनावको समय हेरफेर गरिएको नेविसंघका सहमहामन्त्री प्रेमबहादुर जोशीले जानकारी दिए।

देशभरका ६१ बटा आंगिक क्याम्पसहरुमध्ये ३७ वटा क्याम्पसमा निर्वाचन नहुने भएको छ। ३७ वटा क्याम्पसहरुमा निर्वाचनका कुनै पनि प्रक्रिया अघि बढ्न नसकेका कारण निर्वाचन नहुने भएको हो।

विद्यार्थी संगठनबीचको विवादका कारण केही क्याम्पसमा चुनाव नहुँने त्रिवि शिक्षाध्यक्ष एवं स्ववियु निर्वाचन समितिको संयोजक प्रा.डा. सुधा त्रिपाठीले बताइन्। त्रिपाठीले भनिन् ‘विद्यार्थीहरु तालाचावी लगाएर वसेका छन् प्रहरी परिचालन गरेरमात्र क्याम्पसमा निर्वाचन गर्न सक्दनौं।’

राजधानीका चर्चामा रहेका सरस्वती बहुमुखी क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, शंकरदेव क्याम्पस, नेपाल कमर्श क्याम्पस, अमृत साइन्स क्याम्पस, त्रिवि केन्द्रीय क्याम्पस लगायतमा १ दर्जन भन्दाबढीमा बुधवार निर्वाचन हुनेछैन।

राजधानीका जनप्रसशासन बहुमुखी क्याम्पस र सानोठिमीमा भने विवादबीच आज चुनाव हुँदैछ। ठूला विद्यार्थी संगठनले चुनाव नहुँनुमा एक अर्कालाई दोष देखाइरहेका छन्।

झापाका १० वटा क्याम्पसमा निर्वाचनको तयारी पूरा भएको जनाइएको छ । नेतृत्व चयनका लागि आज बुधवार निर्वाचन हुँदैछ । कनकाई क्याम्पस सुरुङ्गामा विवादका कारण चुनाव स्थगित भएको छ भने धुलावारी क्याम्पसमा निर्वाचनको मिति सारिएको छ ।

धुलावारी क्याम्पसमा फागुन २१ गते निर्वाचन हुने बताइएको छ । बाँकी १० वटा क्याम्पसमा निर्वाचनको तयारी पूरा भएको बताइएको छ । काँकरभिट्टा क्याम्पस काँकरभिट्टा, धुलावारी क्याम्पस धुलावारी, त्रिदेव चारआली, कन्काई बिर्तामोड, मेची क्याम्पस भद्रपुर, शनिश्चरे, देवी, गौरादह, गौरीगञ्ज, दमक र गरामनी क्याम्पसमा निर्वाचन हुने बताइएको छ ।
निर्वाचनका लागि विभिन्न विद्यार्थी संगठन आ–आफ्नै तर्फबाट प्यानल खडा गरी चुनावी मैदानमा उत्रिएका छन् । केही क्याम्पसमा विद्यार्थी संगठनबीच कार्यगत एकता भएको बुझिएको छ । अनेरास्ववियुकोतर्फबाट काँकरभिट्टा क्याम्पसमा पुकार कार्कीले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने नेविसंघबाट सुरज सुवेदी, धुलावारीमा अनेरास्ववियुबाट शोभा भट्टराई र नेविसंघबाट अनिष लुइँटेल, त्रिदेवमा अनेरास्ववियूबाट लक्ष्मीप्रसाद न्यौपाने र नेविसंघबाट कल्पना थापाको उम्मेदवारी परेको छ ।
त्यस्तै कन्काई क्याम्पस बिर्तामोडमा राजेश कार्की अनेरास्ववियुबाट उम्मेदवारी दर्ता गराएका छन् भने नेविसंघबाट सञ्जय राईले र अखिल क्रान्तिकारीबाट टीकाराम धमलाले अध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् । मेची क्याम्पसमा अध्यक्षका लागि अनेरास्ववियुकातर्फबाट मनोज ताम्ली, नेविसंघबाट भूवन बुढाथोकी र अखिल क्रान्तिकारीबाट हैकम घिसिङको उम्मेदवारी परेको छ । देवी बहुमुखी क्याम्पसबाट निरज थापा अनेरास्ववियू, सुवास ढकाल नेविसंघ र अखिल क्रान्तिकारीबाट पदम खड्का रोशनको उम्मेदवारी परेको छ । गौरादह क्याम्पसमा कल्पना पौडेल अनेरास्ववियु, कांग्रेससँग कार्यगत एकता गर्दै युवराज खनालको उम्मेदवारी परेको छ ।
त्यस्तै गौरीगञ्जमा अनेरास्ववियुकोतर्फबाट मोहन न्यौपाने, नेविसंघबाट देव ताजपुरियाको उम्मेदवारी परेको छ । दमक बहुमुखी क्याम्पसमा भने अनेरास्ववियुबाट सन्तोष दुलालको अध्यक्षमा उम्मेदवारी परेको छ भने नेविसंघबाट विनोद चापागाई र अखिल क्रान्तिकारीबाट कुलबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । स्थगित भएको कनकाई क्याम्पसका लागि अनेरास्ववियुका नवीन राई र नेविसंघका अशोक पाठकको उम्मेदवारी परेको बताइएको छ ।

यता गरामनीमा अनेरास्ववियुको तर्फबाट भावना भट्टराईले उम्मेदवारी घोषणा गरेको बताइएको छ । यसअघि स्ववियुको निर्वाचन २०६५ सालमा भएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७३, बुधबार  ६ : ४१ बजे