१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

गाविसले दिन्छ जन्मदर्ता गराउँदा उपहार


४ माघ २०७३, मंगलबार  

0
Shares

child
गौरीगंज, माघ ४ / जन्म दर्ता प्रभावकारी बनाउन झापाको लखनपुर गाविसले ‘ह्याप्पी बेबी गिफ्ट प्याक’ उपहार कार्यक्रम सुरु गरेको छ। यही माघ १ गतेदेखि गाविसले समयमा नै घटना दर्ता गराउने सेवाग्राहीलाई उपहार दिन थालेको हो।

जन्मदर्ता गराउने क्रमलाई प्रेरित गर्न जन्मिएको ३५ दिनभित्रमा नै जन्मदर्ता गराउँदा उपहार दिने व्यवस्था सुरु गरिएको गाविस सचिव राजकुमार शाक्यले बताए।

उनका अनुसार गाविसलाई बालमैत्री गाविस घोषणाका लागि सहयोग पु¥याउन सो नौलो कार्यक्रम थालिएको हो। उक्त सेवा लिँदा गाविसले शिशुका लागि आवश्यक पर्ने सेम्पु, साबुनलगायत पोका नै उपहार दिने गर्छ।
गाविसले सो कार्यक्रम सञ्चालन गराउन चालु आवका लागि रु तीन लाख रकम विनियोजन गरेको छ। उक्त कार्यक्रम झापामा नै पहिलो र नौलो कार्यक्रम भएको सचिव शाक्यले दावी गरेका छन्।

उपहार लिनका लागि सेवाग्राहीले शिशु जन्मिएको प्रमाणपत्र पेस गर्नुपर्ने, शिशुले पहिलो खोप बिसिजी लगाएको हुनुपर्ने, परिवारले अनिवार्य रुपमा शौचालय बनाएको हुनुपर्ने जस्ता मापदण्ड राखिएका छन्।

उक्त कार्यक्रमबाट गाविसले अघि सारेका खुला दिसामुक्त, पूर्णखोपयुक्त लगायत कार्यक्रमको प्रभावकारितामा सघाउ पुग्ने बताइएको छ। गाविसको स्वास्थ्य चौकीमा मासिक ४५ शिशुले नियमित रुपमा खोप लिँदै आएका छन्। कार्यक्रमबाट वार्षिक पाँच सयभन्दा बढी अभिभावकले सेवा लिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ४ माघ २०७३, मंगलबार  ७ : ५२ बजे