४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जनताको आवास कार्यक्रममा झापाको खजुरगाछी छनौटमा


२२ पुस २०७३, शुक्रबार  

0
Shares

झापा, २२ पुस / जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिले आवास कार्यक्रमका लागि गाविस र नगरपालिका छनोट गरेको छ ।
हरेक निर्वाचन क्षेत्रबाट एक/एक गाविस र नगरपालिका छनोट गरिएकाले कार्यक्रम सञ्चालन हुनुअगावै लक्षित समुदाय बसोबास गरेको स्थान छनोट गरी विभागमा पठाउनु पर्ने सहरी विकास तथा भवन निर्माण विभागका खरिदार कमलनिधि चापागाईंले जानकारी दिनुभयो ।

सो कार्यक्रमका लागि क्षेत्र नम्बर १ बाट मेचीनगर नगरपालिका र बाहुनडाँगी गाविस, क्षेत्र नम्बर २ बाट बिर्तामोड नगरपालिका र गरामनी गाविस, क्षेत्र नम्बर ३ बाट भद्रपुर नगरपालिका र केचना गाविस, क्षेत्र नम्बर ४ बाट शनिअर्जुन नगरपालिका र बुधबारे गाविस, क्षेत्र नम्बर ५ बाट शिवसताक्षी नगरपालिका र चकचकी गाविस, क्षेत्र नम्बर ६ बाट गौरादह नगरपालिका र खजुरगाछी गाविस तथा क्षेत्र नम्बर ७ बाट दमक नगरपालिका र तोपगाछी नगरपालिका छनोटमा परेका छन् ।

छनोट भएको स्थानमा चालु आव २०७३/७४ भित्र ५०० घर बनाउने लक्ष्य राखिएको छ । घर निर्माण गर्ने व्यक्तिले १० प्रतिशत र बाँकी रकम सरकारले बेहोर्ने प्रावधान छ । सोही रकमबाट दुई प्रतिशत रकम सम्बन्धित कार्यालयले कट्टा गरी प्रशासनिक खर्च गर्न पाउनेछन् । उक्त दुई प्रतिशत रकमबाट सुपरिपेक्षण, आवश्यक कागजात र प्राविधिक खर्च गर्नुपर्ने छ ।

सरकारले सो कार्यक्रमका लागि प्रतिघर निर्माणमा रु दुई लाख २६ हजार उपलब्ध गराउनेछ । साथै, घरको नमूनासमेत सहरी विभाग तथा भवन निर्माण विभागले गर्नेछ । त्यसरी निर्माण गरिने घर दुई कोठा, एउटा भान्सा र बरन्डासहितको हुनुपर्ने सरकारी नियम छ ।

भूकम्प प्रतिरोधीका त्यस्ता भवन स्थानीय निर्माण सामग्री प्रयोग गरी बनाउनुपर्ने र त्यसका लागि स्थानीय स्तरमा सात सदस्यीय निर्माण समिति बनाउनुपर्ने प्रावधान छ । सरकारले घर निर्माण गर्न आर्थिक अवस्था कमजोर भएका दलित तथा पिछडिएको समुदायका परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले त्यस्तो कार्यक्रम गत वर्षबाटै देशभर सुरु गरेको थियो ।

झापामा कार्यक्रम लक्ष्यअनुरुप सञ्चालन भए यस वर्ष ५०० घर निर्माण हुनेछन् । लक्षित समुदाय मिलेको बस्ती भए एउटा क्लस्टरमा १० वटासम्म घर बनाउन सकिन्छ । त्यहीअनुरुप सम्बन्धित समिति र सरकारी कर्मचारीले सरकारी कार्यक्रममा केन्द्रित हुनुपर्ने छ ।

प्रकाशित मिति : २२ पुस २०७३, शुक्रबार  ९ : १७ बजे