३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

राप्रपा नेपाल झापाको अध्यक्षमा विश्वनाथको उम्मेद्वारी


२० जेष्ठ २०७३, बिहिबार  

0
Shares

जेठ २०, बिर्तामोड / राप्रपा नेपाल झापाको जिल्ला अधिवेशन नजिकिएसंगै नेतृत्वको वहस तातिएको छ ।

पार्टीका अग्रज कार्यकर्ता एवम् झापा भद्रपुरका उद्योगी विश्वनाथ श्रेष्ठले पार्टीको जिल्ला अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् ।

पार्टी स्थापनाकालदेखि क्रियाशील र निष्ठावान कार्यकर्ताको रुपमा परिचित श्रेष्ठलाई नै जिल्ला अध्यक्षमा सर्वसम्मत गराउनको लागि समेत पहल शुरु भएको बताइएको छ । यही जेठ २५ गते बिर्तामोडमा हुने पार्टीको तेस्रो जिल्ला अधिवेशनले नेतृत्व चयन गर्नेछ । अघिल्लो दिन २४ गते हिन्दू जागरण अभियानको बिर्तामोडमै पार्टीका केन्द्रीय अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले उद्घाटन गर्नेछन् । भोलिपल्ट पार्टीको अधिवेशन महामन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्ने कार्यक्रम छ ।

भद्रपुर–८का स्थानीयवासिन्दा श्रेष्ठले आफूलाई राप्रपा नेपालको जिल्ला अध्यक्षको जिम्मेवारी सुम्पने हो भने बिर्तामोडमा पार्टीको आफ्नै कार्यालय भवन यही कार्यकालमा बनाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यकाल ४ बर्षको रहनेछ । हाल पार्टी कार्यालय भाडाको घरमा रहेको छ । पार्टीका केन्द्रीय सदस्य राजकुमार पोखरेलले बिर्तामोडमा प्रदान गरेको १० धुर जग्गामा अरु त्यत्तिनै थपेर पार्टीको भवन बनाएर कार्यालय आफ्नै भवनमा सार्ने  अध्यक्षका उम्मेदवार श्रेष्ठको उद्घोष छ । उनले महिला तथा युवाको नेतृत्व र व्यक्तित्व विकास गर्न क्षेत्रीय तथा गाउा स्तरमा प्रशिक्षण अभियान सञ्चालन गरेर महिला र युवा सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने योजना समेत बताएका छन् ।

त्यस्तै अन्य पार्टी सरह राप्रपा नेपालका नेताहरुलाई झापामा आउादा प्रशासनिक तथा राजनीतिक क्षेत्रबाट विशिष्ठ व्यक्तित्वको सम्मान प्रदान गर्न पहल गर्ने, संगठन सुदृढीकरण सशक्त रुपमा गरी पार्टीलाई जिल्लाकै अग्रणी पार्टीको रुपमा स्थापित गर्न पहल गर्ने समेत बताएका छन् ।

राज टी इस्टेट तथा मोर्डन टी इस्टेटका सञ्चालक रहेका विश्वनाथ मेची आमाका जेठा छोरा हुन् । उनी रेडक्रस, परिवार नियोजन संघ, अर्बुद रोग, क्षयरोग निवारण संघ जस्ता मानवीय संस्थाका आजीवन सदस्य समेत रहेका छन् । उनी रेडक्रसको डिजास्टर कमिटीको केन्द्रीय सदस्य समेत भएका थिए । २०३८ सालमा सुधारिएको पञ्चायतबाट राजनीति शुरु गरेका श्रेष्ठ दुई पटक भद्रपुर नगर पञ्चायतको निर्वाचित सदस्य, क्षेत्र नं. १बाट जिल्ला पञ्चायतमा निर्वाचित सदस्य समेत भए । २०४८ सालमा राप्रपाको संस्थापक सदस्य रहेका उनी केन्द्रीय पाषर्द समेत भए । राप्रपा नेपाल स्थापनादेखि नै सो पार्टीको विभिन्न जिम्मेवारीमा रहेका उनी पार्टीभित्र इमान्दार कार्यकर्ताको रुपमा परिचित छन् । पार्टीका अग्रज एवम् प्रभावशाली नेता, कार्यकर्ताहरु विश्वनाथलाई जिल्ला अध्यक्षमा चयन गराउनका लागि लविङमा जुटेको समेत बताइएको छ । पार्टी अधिवेशनमा जिल्लाका ५ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७३, बिहिबार  १० : ३२ बजे