३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गाउँलेको आदेशमा २४ घण्टा थुनियो कौशिल्यादेवी गनगाईंलाई


१४ असार २०७३, मंगलबार  

0
Shares

pidit-mahila

विराटनगर १४ , असार / यौन दुव्र्यवहार भएको जनाउँदै प्रहरी कार्यालय पुगेकी महिलालाई हिरासतमा राखेर प्रहरीले कानुन कार्यान्वयनको नयाँ अभ्यास गरेको छ ।
गाउँका शिक्षक, राजनीतिकर्मी र शिक्षितहरुको (पञ्चेती) सर्वपक्षीय भेलाले गरेको निर्णय स्वीकार्दै प्रहरीले पीडित हुँ भन्दै न्याय माग्न जाने महिलालाई थुनेर कानुन, मानव अधिकारको उपहास गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीले २४ घण्टा थुनिएकी मोरङ पोखरिया गाविस–५ की कौशिल्यादेवी गनगाईंलाई आइतबार सचेत गराइएको पत्रमा ल्याप्चे लगाएर छाडेको छ ।
बुधबार मध्यान्ह आफ्नै खेतमा मुङको दाल टिप्दै गरेका बेला स्थानीय धर्मचन्द मण्डलले समाएर जबरजस्ती कपडा खोलेको गनगाईाले बताइन् । उनका अनुसार आफू चिच्याएको आवाज सुनेर छिमेकी मञ्जु गहदार आएपछि मण्डल भागेका थिए । पोखरिया प्रहरी चौकीमा उजुरी दिन जाँदा रंगेली जान भनिएपछि उनी प्रत्यक्षदर्शी गहदारलाई लिएर उजुरी दिन पुगिन् । निवेदन दिनेबित्तिकै मण्डललाई पक्राउ गरी चौकीले इप्रकामा पठायो ।
भोलिपल्ट बिहीबार गाउँलेले रंगेली पुगेर प्रहरीलाई गाउँको कुरा गाउँमै मिलाउने भनेपछि प्रहरीले मण्डललाई छाड्यो । शनिबार प्रहरी चौकीमै पञ्चेती बस्यो र पीडित भनिएकी गनगाईलाई दोषी ठहर्‍यायो । पञ्चायती शासन सकिएको २६ वर्ष कटेपछि त्यस बेलादेखि पुरुसार्थ देखाउँदै आएका भद्र भनिएकाहरुले गलत आरोपमा मण्डललाई थुनाएको भन्दै पीडित गनगाईालाई पनि थुनाउँने निर्णय गर्‍यो ।
पञ्चायतकालिन शासन गाउँमा चलाउँदै आएकाहरुको आदेश पालना गर्दै कौशिल्यादेवी गनगाईलाई शनिबारनै प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखेको थियो । पोखरिया– ५ का बासिन्दा तथा पूर्वशिक्षक शिवनारायण मण्डलले कसैको दवावमा मण्डललाई प्रहरीले पक्राउ गरेपनि समाजमै मिलाउँने भनेर निकालिएको बताए । महिलाले लगाएको आरोप निराधार भएकाले गाउँमा मिलाउने प्रयास गरिएको उनले दाबी गरे ।
प्रहरीको नियन्त्रणमै रहेका बेला कौशिल्यादेवीले भनिन्–‘त्यसले पछाडिबाट आएर समाउँदै लुगा खोल्यो, उखुबारीतिर तानेर लान खोज्यो ।’ पीडा सुनाउँदा रोएर भक्कानिएकी उनले थपिन्–‘मेरो लागि बोलिदिने कोही नभएकाले प्रहरीमा ल्याएर थुनियो ।’ गनगाईाको निवेदनमा आरोपित मण्डल थुनिएतापनि कसैको निवेदन बेगर गनगार्इालाई प्रहरीले थुनेको देखिन्छ ।
‘महिला हो, अपराध गरेको छैन, छाडि दिनुस् बिहानै हाजिर गराउँलाभन्दा प्रहरी निरीक्षक अभिचन्द्र रिजालले मानेनन्’ कौशिल्याको माइती गाउँका भाइ सिवनी जहदाका शिवशंकर गामीले भने–‘तपाईको बर्दी भित्रको इन्सानलाई हेर्नुस् भन्दापनि इन्स्पेक्टरले मानेनन् ।’
प्रनि रिजालले भने पोखरिया घर भएकै एक महिला सांसदले फोन गरेर कौशिल्यादेवीलाई थुन्न भनेकाले राति नछाडिएको बताए । पोखरियामा घर भएका सांसद नभएपनि पूर्वसभासद आशा सरदारको घर छ ।
डेड सय जना गाउँलेको दवाबमा गनगाईालाई थुनेको बताउँने प्रनि रिजालले सांसद अमृत अर्यालले छाड्न भन्दापनि गाउँलेका कारण छाड्न नसकिने बताएको उनले जानकारी दिए । मण्डलले गत वर्ष वैशाखमा पनि कौशिल्यादेबीलाई दुब्र्यवहार गरेका थिए । उनका श्रीमान र देवरले मण्डललाई कुटपिट गरे । घाइतेको न्यूरो अस्पतालमा उपचार गराई गनगाई परिवारले क्षतिपूर्ति पनि दियो ।
कौशिल्याका श्रीमान र देवर गएको वैशाखमा रोजगारीका लागि विदेश गएकाले त्यसको बदला लिन मण्डलले जथाभाबी गरेको पीडितकी बृद्धा आमा जितनी गनगाईले बताइन् । उनका अनुसार गत वर्षपनि मण्डलले गाउँकी अर्की महिलालाई दुब्र्यवहार गरेकाले पञ्चेतीले क्षतिपूर्ति दिलाएको थियो । मण्डलले तीन महिलालाई गाउँमा दुब्र्यवहार गरेको यो चौथो पटक भएको उनले दाबी गरिन् ।
मानव अधिकार सञ्जालका पूर्वाञ्चल संयोजक सोमराज थापा यसखाले प्रबृत्तिले कानुनको उपहास भएको बताउँछन् । ‘एउटा गल्ती लुकाउन अर्को गल्ती गरेर बिधिको शासनमा राज्यको निकायले कानुनको उपहास गरेको छ’ उनले भने । मोरङका प्रहरी उपरीक्षक संदीप भण्डारीले घटनाका बारेमा थाहा नभएको बताउँदै बिस्तृत बुझेर जानकारी दिने बताए ।

प्रकाशित मिति : १४ असार २०७३, मंगलबार  ११ : ११ बजे