१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

नेपालका सबै जाति आदिवासी हुन्: उपप्रधानमन्त्री मैनाली


२९ जेष्ठ २०७३, शनिबार  

0
Shares

काठमाडौं २९,  जेठ  /  उपप्रधानमन्त्री सिपी मैनालीले नेपालभित्रका सबै जाति आदिवासी भएको दाबी गरेका छन् ।

CP-Mainaliसंयुक्त खस क्षेत्री नेपालको स्थापना दिवसको अबसरमा आयोजित विचार गोष्ठीमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री मैनालीले नेपालको नागरिकता लिएका सबै जातजाति लामो समयदेखि मुलुकमा बस्दै आएकाले आदिवासी भएको बताए ।

क्षेत्रीले आफूहरुलाई मात्र समेटेर संयुक्त खस क्षेत्रीभन्दा पनि बृहत् खसलाई एक ठाउँमा समेटेर अगाडि बढ्दा मात्र आफ्नो पहिचान स्थापना गर्न सकिने उनले बताए । मन्त्री मैनालीले भने, “सबै खस मिले मात्र आफ्नो अधिकार र पहिचान स्थापित हुन्छ, नेपालको सबैभन्दा धेरै जनसङ्ख्या भएको जाति खस क्षेत्रीलाई छुट्टै पहिचान पनि दिनुपर्छ ।”

संयुक्त खस क्षेत्री नेपालका प्रमुख संरक्षक हिमालयशम्शेर राणाले मुलुकको निर्माणमा खसक्षेत्रीको ठूलो योगदान भएकाले सरकारले खस क्षेत्रीलाई विशेष चासोका साथ हेर्नुपर्ने बताए । संयुक्त खस क्षेत्री नेपालका अध्यक्ष मानबहादुर थापाले आफ्नो स्पष्ट पहिचान भएकाले राज्यका सबै निकायमा जातीय आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व गर्नुपर्ने माग गरे ।

संयुक्त खस क्षेत्री नेपालले खस क्षेत्रीलाई स्वतन्त्र पहिचान र अधिकारसहित आदिवासी सूचीमा सूचीकरण, आदिवासी क्षेत्री राष्ट्रिय आयोग गठन, नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक सनातन हिन्दूराष्ट्र कायम, ज्येष्ठ नागरिकलाई न्यूनतम जीवन निर्वाह भत्ताको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७३, शनिबार  २ : ०१ बजे