बिर्तामोड , २६ जेठ / आव्हान गरेको बन्दको प्रचारप्रसार गर्नेक्रममा नेत्रविक्रम चन्द बिप्लव सम्बद्ध नेकपा माओवादीका चारजना कार्यकर्तालाई बुधबार झापाको झिलझिलेबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा ५ नम्वर एरिया सेक्रेटरी सुरेन्द्र मिश्र, कार्यकर्ता कुमार माझी, दिपेश मिश्र र मदन मिश्र रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले भने पक्राउबारे केही बताएको छैन । चार महिनाअघि विप्लव सम्बद्ध माओवादीका झापा सेक्रेटरी विवश किरातीसहित चारजना कार्यकर्तालाई साकम्बरी गुट्खा उद्योगमा आगजनी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको बिनासर्त रिहाइको माग गर्दै विप्लव माओवादी आन्दोलनमा उत्रेको छ ।
यसैवीच रुपन्देहीको बुटवलस्थित गोलपार्कमा पार्किङ गरी राखिएको तीन वटा बसमा आगजनी भएको छ।पार्किङ गरिराखेको लु १ ख ६९२६, लु १ ख ३९९६ र लु १ ख ६८७९ नम्बरको बसमा गएराति आगो लागेको हो। सो घटनाबारे अनुसन्धान भइरहेकाले कसले किन आगो लगायो भन्नेबारे खुलिनसकेको डिएसपी महेन्द्र खड्काले जानकारी दिए।