१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कुकको दस हजार रन


१८ जेष्ठ २०७३, मंगलबार  

0
Shares

 

चेस्टर लि स्ट्रिट १८, जेठ / इंग्ल्यान्डका कप्तान एलिस्टर कुक टेस्ट क्रिकेटमा १० हजार रन बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । त्यही शुभसाइतमा इंग्ल्यान्डले सोमबार दोस्रो टेस्टमा श्रीलंकालाई ९ विकेटले पराजित गर्‍यो ।

३१ वर्ष ५ महिना र ५ दिनका कुकले १० हजार टेस्ट रनको आँकडालाई छोएका हुन् । चौथो दिनको खेलमा इंग्ल्यान्डको दोस्रो इनिङमा ५ रन बनाएसँगै कुकले यस्तो सफलता आत्मसात् गरेका हुन् । भारतका सचिन तेन्दुलकर सन् २००५ मा ३१ वर्ष १० महिना २० दिनका दिन १० हजार टेस्ट रन बनाउने यसअघिका कान्छा खेलाडी थिए ।

इंग्ल्यान्डलाई विजयी दिलाउने क्रममा कुक ४७ रनमा नटआउट रहे । उनले ६५ बल खेली ७ चौका प्रहार गरे । एलेक्स हल्स ११ रनमा आउट भए पनि निक कोम्प्टनले नटआउट २२ रन बनाउँदै कुकसँग मिलेर इंग्ल्यान्डलाई जिताए । नतिजासँगै इंग्ल्यान्डले तीन टेस्टको शृंखला २–० को अग्रतामा जितेको छ ।

यसअघि ३०९–५ बाट सोमबारको खेल प्रारम्भ गरेको श्रीलंकाको दोस्रो इनिङ्स ४ सय ७५ रनमा टुंगिएको भयो ।

दिनेश चन्डिमलले सानदार १ सय २६ रन बनाए । तर उनको प्रयासले श्रीलंकालाई इनिङ्सको हारमात्र जोगाउन सक्यो । ५४ रनबाट दिनको खेल प्रारम्भ गरेका चन्डिमलले २ सय ७ बलको इनिङ्समा १३ चौका र १ छक्का प्रहार गरे ।

मिलिन्डा सिरिबर्द्धनाले ३५ र रंगना हेराथले ६१ रन बनाउँदै श्रीलंकाको आशालाई जोगाइराखे । ८ चौका प्रहार गरेका हेराथले ९९ बल खेले । पुछारका दुई ब्याट्सम्यान सुरन्गा लकमाल ११ र नुवान प्रदीपले १३ रन बनाएपछि इंग्ल्यान्डको जितमा केही ढिलाइ भएको थियो ।

इंग्ल्यान्डबाट जेम्स एन्डरसनले ५ विकेट लिए । इंग्ल्यान्डलाई जित दिलाउँदा पहिलो टेस्टमा ५ विकेट लिएका एन्डरसनले २७ ओभरमा ९ मेडन राख्दै ५८ रन खर्चे ।

पहिलो इनिङ्समा ३ विकेट लिएका एन्डरसन ‘म्यान अफ द म्याच’ चुनिए । क्रिस वोक्सले २ तथा स्टुवार्ट ब्रोड, स्टिभ फिन र मोइन अलीले १–१ विकेट लिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७३, मंगलबार  ९ : २१ बजे