३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नेपालमा पहिलो पटक सन्थाल जातिको चलचित्र ‘बोनोदल’ निर्माण हुने


१९ बैशाख २०७३, आइतबार  

0
Shares

झापा  /  लोपोन्मुख सन्थाल समुदायको भाषामा चलचित्र बन्ने भएको छ । झापा, मोरङ र सुनसरीमा बसोबास रहेको सन्थाल समुदायको भाषामा नेपालमै पहिलोपटक चलचित्र बन्न लागेको हो ।
सन्थाल समुदायका भाषा, संस्कृति, भेषभूषा, रहनसहन तथा इतिहासलाई समेटेर चलचित्र निर्माण गर्न लागिएको हो । चलचित्रको नाम ‘बोनोदल’ रहेको छ जसको अर्थ ‘परिवर्तन’ हो । विर्तामोड–२ चारपानेमा रहेको इन्स्पायर मिडिया प्रोडक्सन हाउसले सो चलचित्र निर्माण गर्न लागेको हो । चलचित्रका निर्देशक किरण खतिवडा र सहनिर्देशक आकाश कडुवाल रहेका छन् । साढे ३५ लाख रुपैयाँको लागतमा बन्न लागेको सन्थाली चलचित्र ‘बोनोदल’ हालसम्म जातीय उत्थानका लागि नेपालमा बनेका चलचित्रमध्ये धरै लगानीमा निर्माण हुन लागेको निर्मात्री जिया मरहठ्ठाले बताइन् ।
चलचित्रमा  अधिकांश कलाकार सन्थाल समुदायकै विशिष्ट व्यक्तिहरुमध्येबाट छनोट गरिने निर्माण स्रोतले जनाएको छ । सन्थाल समुदायका अगुवा र सामाजिक संस्थाका नेतृत्वकर्ताले समेत अभिनय गर्ने निर्माण पक्षले जनाएको छ । चलचित्रका मुख्य पात्रहरु सुनिल हास्दा, मोहन टुडु, देवान टुडु, राजन वास्के, निस्सपेक्टर मुर्मू, कविता वास्के, बलराम हेमरम, रिता सुरेन मुर्मू, मिना टुडु, दीपेन्द्र कार्की, राजु राईलगायत छन् । मोहन टुडु सांसद हुन् । चलचित्रको छायांकन आउदोसाता झापाको हल्दीबारी, र चारपानेमा शुरु हुने छ । आगामी असोज पहिलो हप्तासम्ममा निर्माण गरिसक्ने लक्ष्य राखिएको छ । चलचित्रमा पाँचवटा गीत रहने निर्देशक खतिवडाले बताए । गीतमा जुना किस्कु र सरु टुडुको स्वर रहेको छ । संगीत संयोजन ज्योति तामाङले गरेकी छन् । चलचित्र पुर्णरुपले सामाजिक जनचेतनामा आधारित हुने चलभित्रका लेखकसमेत रहेका खतिवडाले जानकारी दिए । चलचित्रको शुभमुहूर्त शुक्रवार गरिएको छ । पत्रकार सम्मेलन गरी चलचित्र टिमले चलचित्रबारे जानकारी गराएको थियो । चलचित्र नेपालसहित  भारतका सातवटा प्रान्त तथा बंगालादेश, भुटानलगायतका देशमा प्रदर्शन गरिने जनाइएको छ । सन्थाल समुदायको ती ठाउँहरुमा चलचित्र प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । समुदायका विविध पक्षलाई समेटेर व्यवसायीक चलचित्र निर्माण गर्न लागिएको निर्देशक खतिवडाले बताए । पत्रकार सम्मेलनमा निर्देशक खतिवडा, कलाकार बलराम हेमरम, देवान टुडुलगायतले बोलेका थिए । २०६८ सालको जनगणनाअनुसार नेपालमा सन्थाल समुदायको जनसंख्या ५१ ह्जार ७ सय ३५ रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७३, आइतबार  ७ : ५२ बजे