३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

धान रोप्ने मेशिन हस्तान्तरण


२९ चैत्र २०७२, सोमबार  

0
Shares

झापा २८,  चैत  /  कृषि बिकास मन्त्री हरिबोल गजुरेलले झापा भद्रपुर १० को पहिलो पाइला कृषि सहकारी संस्थालाई धान रोप्ने मेशिन हस्तान्तरण गरेका छन् ।
मन्त्री गजुरेलले सहकारी संस्थाका अध्यक्ष सनिप भुजेललाई आज धान रोप्ने मेशिनको चावी हस्तान्तरण गरेका हुन् । जिल्ला कृषि बिकास कार्यालय झापा मार्फत नेपाल सरकारको २ लाख ९० हजार र सहकारी संस्थाको १ लाख ६० हजारमा मेशिन खरिद गरी हस्तान्तरण गरिएको हो । जिल्ला कृषि बिकास कार्यालय झापाले यस अघि गोलधापमा धान रोप्ने मेशिन भूतेनी खोला जल उपभोक्ता समितिलाई हस्तान्तरण गरेको थियो ।
मन्त्री गजुरेलले चावी हस्तान्तरण गरेपछि महिला चालक मुना मगरले मेशनबाट रोपाई गरेकी थिइन् । दुई घण्टामा एक बिगाहा क्षेत्रफलमा रोपाईँ गर्ने सक्ने यो मेशिनले धान खेतिमा हुने लागत घटाउने कार्यक्रममा सहभागि कृषि विज्ञले बताए । ट्रेमा उमारेको दश दिन देखि तीन हप्तासम्मको बिउ रोप्न सकिने यस मेशिनको प्रयोगले उत्पादनमा समेत वृद्धि हुने बताइएको छ ।
मेशिन हस्तान्तरण पछि आयोजित कार्यक्रममा कृषि मन्त्री हरिबोल गजुरेल प्रविधिको प्रयोग बिना कृषिको बिकास सम्भव नहुने बताए । कार्यक्रममा कृषि बिभाग बाली बिकास निर्देशनालयका निर्देशक डिलाराम भण्डारीले झापादेखि कञ्चनपुरसम्म धान रोप्ने मेशिन पुर्याउने कार्यक्रम रहेको बताए । सांसद मोहन टुडू, क्षेत्रिय कृषि निर्देशक तारकुमार श्रेष्ठ, झापाका स्थानीय बिकास अधिकारी खेमराज ओझा, जिल्ला कृषि बिकास कार्यालय झापाका  बरिष्ठ कृषि बिकास अधिकृत मेघनाथ तिमल्सिना, बाली बिकास अधिकृत राजेन्द्र खरेल, जिल्ला कृषि बिकास कार्यालय मोरङका बरिष्ठ कृषि बिकास अधिकृत राजेन्द्र उप्रेती लगायतले धान रोप्ने मेशिन लगायतका प्रविधिबाट मात्र कृषिको बिकास सम्भव हुने बताए ।
जिल्ला कृषि बिकास कार्यालय झापाका कृषि प्राविधिक शालिकराम भट्टराई कार्यक्रम संचालन गरेका थिए ।   dhan

प्रकाशित मिति : २९ चैत्र २०७२, सोमबार  १२ : १७ बजे