५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

किरा लागेर धान मर्न थालेपछि गौरीगंजका किसानहरु चिन्तित


२५ कार्तिक २०७६, सोमबार  

0
Shares

photo1 (2)

गौरीगंज २५, कार्तिक / पाक्न लागेको धान बालिमा किरा लागेर धान मर्न थालेपछि गौरीगंजका किसानहरु चिन्तित बनेका छन । गौरीगंज गाउपालिका वडा नं ३ को ठेकिटोला बस्तीमा किसानहरुले लगाएको रन्जित र सर्ना जातको धानमा भुसुना जस्ता देखिने मसिना किराले धान सखाप पारेको छ । ठेकिटोला गाउ“मा अहिले सम्म करिब २० बिघा जग्गाको धानबालीमा यो रोगको प्रकोप देखिएको छ । सुरुवाती अबस्थामा धानको फेदमा कालो देखिएको त्यसपछि क्रमस बोट नै मरेको किसानहरुले बताए । भुसुना जस्तो किरा धानमा व्यापक रुपमा फैलिएको र एकैरातमा धानको दाना भुस बनाएको ठेकिटोलाका किसान महेन्द्र रिजालले बताए। धानमा यस प्रकारको रोगले सखाप परेपछि पराल समेत काम नलाग्ने भएको अर्का किसान नगेन्द्र प्रसाद गड्तौलाले बताए । धान रोपेपछि रोग लाग्दा औषधि छिटेर रोग नियन्त्रण गर्ने गरेता पनि पाक्ने बेलामा रोग लागेकाले धान बचाउने उपाय खोज्दै कृषि ज्ञान केन्द्रमा पुगेर जानकारी गराएको किसान भोलानाथ खतिवडाले बताए । धानको टुप्पादेखि जरासम्म किरा लागेर दिन दुई गुणा र रात चौगुणा किराको संक्रमण फैलिएर यस क्षेत्रका सबै किसानको धान नष्ट भएपछि किसानहरु निरास भएका छन । कडा मेहनत र ठुलो लगानी गरेर असारमा लगाएको धानबाली उठाउने समयमा रोग लागेर नष्ट भएपछि मुनाफा त कता कता आफुलाई खान समेत धौधौ हुने किसानहरुले गुनासो गरेका छन । किसानहरुले रोगको बिकल्प खोज्दै कृषि ज्ञानकेन्द्र र गौरीगंज गाउ“पालिकाको कार्यालयमा जानकारी गराएका छन । कृषि ज्ञानकेन्द्र गौरीगंजका प्राविधिक नवराज सुबेदीले धानको अनुगमन गरि फड्के किरा लागेको प्रारम्भिक अनुमान गरेको छ । धान पाक्न लागिसकेकाले औषधि गर्नु भन्दा धान काट्नु उपयुुक्त हुने सल्लाह दिएका छन । कृषि प्राबिधिकको सल्लाह अनुसार धान बिगर्नु भन्दा काट्नुनै राम्रो देखिएकाले धान काट्न सुरु गरेको महेन्द्र रिजाल बताए ।कृषि प्राबिधिकले फड्के किरा लागेको भनेपनि भुसुना जस्तो पखेटा भएको उड्ने किरा भएकाले फड्के किरा नभएको किसानहरुको बुझाई छ । अहिलेसम्म यो रोगले ठेकिटोला बस्तिमा नगेन्द्र गड्तौलाको ५ बिघा,महेन्द्र रिजालको १ बिघा,भोलानाथ खतिवडाको १ बिघा,घनेन्द्र गड्तौलाको १ बिघा, बिन्दु गड्तौलाको १० कठ्ठा, हेमलाल, उपेन्द्र र खगेन्द्र गड्तौलाको २ र२ बिघा जग्गाको क्षेत्रफलमा रोगको संक्रमण फैलिएको किसानहरुले बताए । उनीहरु गौरीगंज गाउ“पालिकामा किराको प्रकोपबारे लिखित जानकारी गराएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : १२ बजे