५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

नेकपाकाे कार्यदलले टुुङ्ग्यायाे पार्टी एकीकरण , ९ एमाले ६ माओवादी, गाैरीगंजकाे नेतृत्व विध्यानन्द राजवंशीलाई


३० फाल्गुन २०७५, बिहिबार  

0
Shares

20190314_221452

गाैरीगंज ३०, फागुन /
नेपाल कम्युनिष्ट पार्टी नेकपा झापाको कार्यदलले १५ वटा स्थानीय तहमा भागवण्डा टुङ्ग्याएको छ । तत्कालिन एमालेले ९ वटा र माओवादी केन्द्रले ६ वटा स्थानीय तहमा नेतृत्व गर्ने गरी आज भागवण्डा टुङ्गिएको हो । तत्कालिन एमाले पक्षले विर्तामोड, अर्जुनधारा, कन्काई, दमक र गौरादह नगर तथा बुद्धशान्ति, कमल, कचनकवल र बाह्रदशी गाउँपालिकामा अध्यक्ष प्राप्त गर्ने सहमति भएको छ । ती स्थानीय तहमा तत्कालिन माओवादी केन्द्रले सचिव पद प्राप्त गर्ने सहमति छ ।
यस्तै, तत्कालिन माओवादी पक्षले मेचीनगर, भद्रपुर र शिवसताक्षी नगरपालिका तथा हल्दिवारी, गौरिगञ्ज र झापा गाउँपालिकामा अध्यक्ष प्राप्त गर्ने सहमति छ । ती तहमा तत्कालिन एमाले पक्षले सचिव प्राप्त गर्ने बताइएको छ । जिल्ला कार्यदलको बैठकले अब दुई दिनभित्र नेतृत्वबारे निर्णय गर्ने बताएको छ । तर, स्रोतले नेतृत्व पनि लगभग तय भइसकेको जनाएको छ ।
जसमा तत्कालिन माओवादी तर्फबाट मेचीनगरमा माधव अर्याल, भद्रपुरमा शिवराज राजभण्डारी, शिवसताक्षीमा महेन्द्र भट्टराई, गौरिगञ्जमा विद्यानन्द राजवंशी, झापामा रुद्र वजगाईंले नेतृत्व गर्ने स्रोतको दाबी छ । हल्दिवारी गाउँपालिकामा याम राई र नरेश चुडालको नाममा नेताहरुबीच नै रस्साकस्सी छ । दुई युवाका नाममा रस्साकस्सी चल्दा दिपक खरेललाई अध्यक्षको जिम्मेवारी दिने हो भने हल्दिवारीका लागि उपयुक्त हुने स्थानीयको जिकिर छ । यी स्थानीय तहमा तत्कालिन एमालेले भने पहिले अध्यक्ष रहेका अधिकांशलाई सचिव बनाउने तयारी गरेको छ । मेचीनगरमा राजु पोखरेल, भद्रपुरमा ब्रम्हलाल ढुङ्गाना, शिवसताक्षीमा धनबहादुर थेवे, गौरिगञ्जमा विष्णु न्यौपाने, झापामा गजेन्द्र ताम्ली र हल्दिवारीमा हरि गौतमलाई सचिव बनाउने तयारी गरिरहेको छ ।
तत्कालिन एमालेतर्फबाट विर्तामोडमा ज्ञानुराम प्रसाईं, अर्जुनधारामा प्रेमसागर सापकोटा, कन्काईमा रविन्द्र लम्साल, दमकमा बोधप्रसाद घिमिरे र गौरादह नगरमा मित्रदेव काफ्लेले नेतृत्व गर्ने लगभग निश्चित छ । बुद्धशान्तिमा टीका पाठक, कमलमा भीम राई, कचनकवलमा तीलबहादुर राई र बाह्रदशी गाउँपालिकामा तोया पोखरेल अध्यक्ष हुने स्रोतले जनाएको छ । तत्कालिन माओवादी केन्द्रबाट कचनकवलमा दलबहादुर तामाङ, बाह्रदशीमा लक्ष्मी तिवारी सचिव बन्ने लगभग तय भएको स्रोतको जिकिर छ । तत्कालिन एमाले तथा माओवादी केन्द्रमा प्रमुख पद सम्हालेका नेता सचिव बन्न तयार हुन्छन् कि हुँदैनन् भन्ने विषयले सचिव तय हुने स्रोतको जिकिर छ । ३ गते प्रदेश कमिटीको बैठक वस्दैछ । नेकपा कार्यदलका नेता झलकसिंह दर्लामी सन्देशले भन्नुभयो, त्यो बैठकबाट नाम टुङ्गिने गरी निर्णय गर्छौं, अहिले नाम टुङ्गिएको छैन । तर, चर्चामा रहेका नामबाट नै नेतृत्व बन्ने उहाँले बताउनु भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  ४ : ३५ बजे