५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

११ दिनमै फेरि बढ्यो पेट्रोल र डिजलको भाउ, यस्ताे छ पछिल्लाे मुल्य


२ आश्विन २०७५, मंगलबार  

0
Shares

438694-petrol-diesel-reuters

काठमाडौं २, असाेज / नेपाल आयल निगमले पेट्रोल र डिजलको भाउ बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको निगमका प्रबक्ता विरेन्द्र गोइतले जानकारी दिए । अब पेट्रोल लिटरको ११४ रुपैयाँ पुगेको छ । डिजल र मट्टीतेलको भाउ १०१ रुपैयाँ भएको छ । निगमले यो मूल्य अन्तर्राष्ट्रिय भाउ अनुसार स्वचालित मूल्य अनुसार समायोजन भएको जनाएको छ ।

हवाई इन्धन र एल पी ग्यासको मूल्य भने यथावत छ । मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ९२ पैसा र डिजेलमा प्रति लिटर २ रुपैयाँ ७२ पैसा घाटा रहेको निगमले जनाएको छ । यस्तै एलपी ग्यासमा प्रति सिलिण्डर ३०९ रुपैयाँ ७९ घाटा रहेको छ । समग्रमा निगमलाई १५ दिनमा झण्डै ३१ करोड ६७ लाख घाटा हुने देखिन्छ ।

पछिल्लो १५/२० दिनमा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएकोले भाउ बढेको निगमको दावी छ । इण्डियन आयल कर्पोरेशनबाट १६ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको पनि आयल निगमको दावी छ ।

यो समायोजन पछि भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सीमा मूल्यमा पेट्रोलमा २९ रुपैयाँ ४४ प्रति लिटर र डिजेल २८ रुपैयाँ ४४ प्रति लिटरले नेपाल तर्फ नै सस्तो रहेको छ । यसअघि गएको भदौ २० गते पेट्रोलमा १ रुपैयाँ , डिजल र मट्टीतेलमा ३ रुपैया र एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ भाउ बढेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार  ८ : २७ बजे