४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापामा बलात्कार घटना भयानक


२१ भाद्र २०७५, बिहिबार  

0
Shares

20180906_145254
बिर्तामोड २१, भदौ / झापामा बालिका बलात्कारको घटना भयावह बन्दै गएको छ । अघिल्लो बर्षहरुमा भन्दा यो बर्ष बलात्कारको घटनामा अस्वभाविक रुपमा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
आर्थिक बर्ष २०७२/०७३ को ६ महिनामा भएको बलात्कारको घटनाको जति संख्या चालु आर्थिक बर्षको ५० दिनमा पुगेबाट बलात्कारको घटना भयावह बन्दै गएको प्रमाणित भएको छ । आर्थिक बर्ष २०७२/०७३ को १२ महिनामा झापामा ७२ वटा बलात्कारको घटना भएको प्रहरीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । चालु अर्थिक बर्षको ५० दिनमा यो संख्या ३५ पुगेको छ ।
यसैगरी आर्थिक बर्ष २०७३/०७४ मा ७४, २०७४/०७५ मा १ सय ३३ र चालु आर्थिक बर्षको ५० दिनमा बलात्कारको घटना ३५ वटा दर्ता भएको झापाका एसपी भिमप्रसाद ढकालले जानकारी दिए । उनले बिगत बर्षहरुको तुलनामा बलात्कारका घटना अस्वभाविक रुपमा बढिरहेको बताए ।
डर, त्रास देखाएर, बिवाहको प्रलोभन, आर्थिक प्रलोभन, जवरजस्ती करणी, शरिर बन्धक बनाई, जनचेतनाको कमीका कारण, सामाजिक सञ्जालको दुरुपयोग, मनौबैज्ञानिक र भावनात्मक ब्ल्याकमेलिङ गरेर बलात्कारको घटना हुने गरेको एसपी ढकालले बताए । उनले १६ बर्ष मुनीका धेरै बालिका बलात्कारको शिकार हुने गरेको बताउँदै पिडक भने १६ देखि ३० बर्षको उमेरका धेरै हुने गरेको पाइएको जानकारी दिए ।
गाउँ भन्दा शहरमा बलात्कारका घटना धेरै हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । शहरका होटलमा कडा नियम लागु गर्न सके बलात्कारका घटना केही हदसम्म नियन्त्रणमा आउन सक्ने प्रहरीले जनाएको छ । झापा प्रहरीले पनि बलात्कारका घटना न्युनिकरणका लागि टोल टोलमा प्रहरी गस्ती गर्न थालेको छ । प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले भदौ ३ गतेदेखि सादा पोषाकमा ५० जना सहित गाउँ शहरका भित्रि टोलमा २ सय ३५ जना प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का झापा प्रतिनिधी अर्जुन बस्नेतले इन्टरनेटको सहज पहुँचका कारण बलात्कारका घटना बढेको बताउँछन् । युवाहरुमा इन्टरनेटको माध्यमबाट अश्लिल चलचित्र हेर्ने क्रम बढेको कारण उनीहरुमा आपराधिक मानसिकता बढेसँगै बलात्कारका घटना पनि तेब्बर बढेको उनको अनुभव छ । कानुन ब्यवसायी समेत रहेका बस्नेतले पिडकले अदालतमा दिएको बयानबाट पनि इन्टरनेटको दुरुपयोगका कारण यस्ता घटना बढेको खुल्ने गरेको बताए । टोल टोलमा प्रहरी परिचालन गरेर यौनजन्य हिंसाका घटना न्युनिकरण हुन नसक्ने उनले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहिबार  ९ : १३ बजे