२७ पुस २०८२, आइतबार | Sun Jan 11 2026

मोरङ्गको रतुवामाईमा रासविस नगर समितिद्वारा भक्का उत्सव तथा सांस्कृतिक कार्यक्रम



झुर्किया २६, पुस / राजवंशी समाज विकास समिति, रतुवामाई नगरपालिका समितिको आयोजनामा आज भक्का उत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम रतुवामाई नगरपालिका–४ झर्किया स्थित नवनिर्मित राजवंशी सामुदायिक भवनमा सम्पन्न भएको हो।

निवर्तमान कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमि प्रसाद राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम राजवंशी समाज विकास समिति, रतुवामाई नगर अध्यक्ष रामबहादुर राजवंशीको अध्यक्षतामा उद्घाटन गरिएको थियो।

कार्यक्रममा सामुदायिक भवन निर्माणका लागि ३ कठ्ठा जग्गा दान गर्ने चन्द्रावती राजवंशीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो। साथै भवन निर्माणमा नगद तथा जिन्सी सहयोग गर्ने दानदाताहरूलाई समेत सम्मान गरिएको थियो।

सांस्कृतिक कार्यक्रममा राजवंशी समुदायका परम्परागत लोकनृत्य, लोकगीतका साथै आधुनिक गीत तथा नृत्यहरू प्रस्तुत गरिएको थियो। भक्का उत्सवको अवसरमा सहभागीहरूलाई भक्का र चनाको तरकारी निःशुल्क वितरण गरिएको थियो।

कार्यक्रमको सञ्चालन समितिका सचिव नन्दलाल राजवंशीले गर्नुभएको थियो भने स्वागत मन्तव्य नगर समितिका उपाध्यक्ष शान्तिदेवी राजवंशीले राख्नुभएको थियो। कार्यक्रमको उद्देश्य तथा गतिविधिबारे नगर समितिका सह–सचिव रामकुमार राजवंशीले जानकारी गराउनुभएको थियो।

कार्यक्रममा रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वर प्रसाद सिंह, उपप्रमुख दमयन्ता देवी चुडाल, सुनवर्षी नगरपालिकाका प्रमुख श्याम राजवंशी, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशी, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका निवर्तमान सदस्य सचिव कमल प्रसाद राजवंशी, ताजपुरिया कल्याण परिषदका केन्द्रिय अध्यक्ष पूर्णलाल ताजपुरियासहित विभिन्न राजनीतिक, सामाजिक तथा समुदायका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

भक्का उत्सव तथा सांस्कृतिक कार्यक्रमले राजवंशी समुदायको पहिचान, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ६ : ४८ बजे