२३ आश्विन २०८२, बिहिबार | Thu Oct 9 2025

‘भुल्कीबाली चेङ्ग्री गे तुई’ म्यूजिक भिडियो सार्वजनिक हुदैँ, राजवंशी संस्कृतिको जीवन्त झल्को



संजय राजवंशी
विराटनगर ११ , असोज / राजवंशी समाजको मौलिक भाषा, संस्कार र परम्परालाई जीवन्त रूपमा प्रस्तुत गरिएको “भुल्कीबाली चेङ्ग्री गे तुई” नामक म्यूजिक भिडियो आउँदो सोमवार बेलुकी ४ः४५ बजे सार्वजनिक हुने भएको छ ।

पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै म्यूजिक भिडियोका कलाकार तथा प्रोड्यूसर दिनेश कुमार राजवंशीले यो भिडियो अरु आफ्ना कामहरु भन्दा बढी चर्चित र भाइरल हुने विश्वास व्यक्त गरे । उनका अनुसार यसअघि ७ वटा राजवंशी भाषागत म्यूजिक भिडियोमा काम गरिसकेका उनले यो भिडियोमा राजवंशी जातिको संस्कृति, संस्कार र परम्परागत रीतिरिवाजलाई अझ प्रष्ट रूपमा प्रस्तुत गरिएको बताए । साथै उनले वडा दशैं, तिहार र छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना पनि व्यक्त गरे ।

यस म्यूजिक भिडियोका निर्देशक कार्तिक राजवंशी हुन् भने रचना स्वर्गीय रामभक्त राजवंशी र गोपाल राजवंशीले गरेका हुन् । राष्ट्रिय गायक बलबहादुर राजवंशीले संगीत र कम्पोज गरेको यस गीतमा चर्चित गायक राम राजवंशी र रिता राजवंशीको संयुक्त आवाज रहेको छ ।

भिडियोमा राजवंशी जातिको मौलिक पोशाक र दैनिक जीवनसँग जोडिएका अनेकौं संस्कृतिका सामग्रीहरु देखाइएको छ । ढोल, बेलगाडी, खर–खरी, ताक्री, पान्जी, ढेरा, छाम गाहिन, जालछिटि, धोती–पगरी, बेहुलाले प्रयोग गर्ने तरवार, इनार र बेहुलीको पोशाक जस्ता पहिरन भिडियोमा समेटिएका छन् । यी सम्पूर्ण दृश्यहरुले राजवंशी संस्कृतिलाई जोगाउने र आगामी पुस्तालाई सन्देश दिने उद्देश्य राखिएको बताइएको छ ।

मोरङ जिल्लाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा बेलवारी नगरपालिकाको डाङ्गीहाट, बाहुनीलगायतका बस्ती प्रमुख लोकेसन बनेका छन् । ठाकुर ब्रह्माणी मन्दिर, ढेङ्ग्रढेङ्ग्रीस्थित घुरणलाल राजवंशीको घर, श्री धिरनाथ सम्फुल उच्च माविको प्राङ्गगण, स्वर्गीय मटरलाल राजवंशीको बंडोल गाउँ, गढी गाउँ र पुरानो गाउँबीचको बाटोमा समेत सुटिङ गरिएको छ ।

मुख्य कलाकारमा दिनेश कुमार राजवंशी र सुस्मीता पाण्डे रहेका छन् । उनीहरुसँगै सुभक राजवंशी, चाकात राजवंशी, ममता राजवंशी, रुपा राजवंशी लगायत स्थानीय दिदीबहिनीहरुको बेजोड अभिनय रहेको छ ।

राजवंशी समाजको परम्परा र सांस्कृतिक विरासतलाई उजागर गर्ने उद्देश्यले बनेको यस भिडियो अहिले नै सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत भाइरल भइरहेको जानकारी आयोजकले दिएका छन् ।

दर्शक र श्रोताहरुले यस म्यूजिक भिडियोमार्फत राजवंशी संस्कृतिको मौलिकता र जीवन्तता अनुभव गर्न पाउनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ । “भुल्कीबाली चेङ्ग्री गे तुई” म्यूजिक भिडियोले सांस्कृतिक गीतसंगीतको क्षेत्रमा राजवंशी समुदायको योगदानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : ३४ बजे