१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मुसहर बस्तीको विकास ‘पहिलो प्राथमिकतामा’


५ फाल्गुन २०७५, आइतबार  

0
Shares

IMG_3970-1

७६ जनामा ४४ जना निरक्षर , २० जनासँग मात्र नागरिकता
बिर्तामोड ५, फागुन /
बिर्तामोड नगरपालिका वडा नं. ३ र १० मा रहेको मुसहर बस्तीको विकासलाई पहिलो प्राथमिकतामा राख्ने स्थानीय जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।
सरकारी तथा सार्वजनिक सेवाप्रदायक निकायसम्म पहुँच नभएका ७६ जना जनसंख्या रहेको मुसहर बस्तीमा ४४ जना निरक्षर छन् । पहिलोचरणमा उनीहरुलाई साक्षर बनाउने अभियान तत्काल थाल्ने बिर्तामोड–३ का अध्यक्ष भोजराज सिटौला र १० का अध्यक्ष दुर्योधन गुरुङले बताएका छन् ।
मुसहरहरुका लागि साक्षरता कक्षा सञ्चालन गर्ने गरी वडा नं. ३ र १० ले आवश्यक सम्पूर्ण सहयोग गर्ने सिटौला र गुरुङको प्रतिबद्धता छ । आज आइतबार बिर्तामोड–१० स्थित मुसहर बस्तीमा भएको छलफलमा उपस्थित जनप्रतिनिधिहरुले साक्षरता कक्षासँगै कानूनी शिक्षा, नैतिक शिक्षा, व्यवहार परिवर्तन र सिपयुक्त प्रशिक्षण समेत सञ्चालन गर्न सकिने बताए ।
अहिले १७ परिवार मुसहरमा अधिकांश पुरुषले मात्र मजदुरी गरी परिवारको पालनपोषण गर्दै आएका छन् । मजदुरीमा जाने ती पुरुष मादकपदार्थ सेवन गरेर आउँदा परिवार तथा समाजमा अन्य समस्या समेत उत्पन्न भएकाले त्यसमा समेत सुधारको आवश्यकता औल्याइएको छ । सीमान्तकृत र राज्यको पहुँचभन्दा टाढा रहेका मुसहरहरुलाई जग्गाको व्यवस्थापन गरी नमूना बस्ती निर्माणमा पनि दिगो योजनाका साथ अघि बढ्नुपर्ने सो अवसरमा औल्याइएको छ ।
बिर्तामोड–३ मा १० परिवार र वडा नं. १० मा सात परिवार मुसहर बसोबास गर्दै आएका छन् । वडा नं. १० मा बाटोको जग्गामा उनीहरुको बसोबास छ भने वडा नं. ३ मा ग्रामीण विकास प्रशिक्षण केन्द्रको नाममा रहेको जग्गामा उनीहरुको अव्यस्थित बसोबास छ । छ दशकभन्दा लामो समयदेखि मुसहरहरु त्यहाँ बसोबास गरे पनि धेरैको नागरिकता छैन । बस्तीका २० जनासँग मात्र नागरिकता रहेको पाइएको छ । सिंगो बस्तीमा एसएलसी उत्तिर्ण गरेका दुईजना मात्र छन् भने अन्य ३० जना विद्यालय तहमा अध्ययनरत् छन् । नागरिकता र अन्य कानूनी आधारको अभावमा नौ जनाले मात्र मताधिकारको प्रयोग गरेको पाइएको छ ।
मुसहर बस्ती विकास समितिका संयोजक तथा सञ्चारकर्मी इन्द्रसिंह राजवंशीले विभिन्न सामाजिक संस्थासँग सहयोग मागेर तत्कालका कतिपय आवश्यकता पूरा गर्ने गरेको पाइएको छ । संवाद समूहको सचिवालयले सरकारका विभिन्न तहसम्म मुसहरहरुको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको छलफलमा त्यसअघि सर्वेक्षणबाट प्राप्त तथ्यांक समेत सम्बन्धित वडाध्यक्षहरुलाई बुझाइएको छ । मुसहर बस्तीमा शुद्ध खानेपानी, शौचालय, सडक, विद्युत् लगायतका आधारभूत समस्या समेत देखिएका छन् । वर्षात्को समयमा उक्त बस्ती सबैभन्दा बढी जोखिममा पर्ने बताइएको छ । वडाध्यक्षहरुको प्रतिबद्धता अनुसार तत्काल साक्षरता कक्षाका लागि सहयोगीको व्यवस्थापन गरी कार्य अघि बढाइने राजवंशीले बताए ।
वडा नं. १० का सदस्य भक्तसिंह राजवंशी मुसहरहरुको जीवनमा परिवर्तन ल्याउन सरकारले आफ्नो जिम्मेवारी बोध गर्नुपर्ने बताउँछन् । स्थानीय युवा क्लवका अध्यक्ष प्रकाश बुढाथोकी मुढा बढाउने, मुरै उत्पादन गर्ने जस्ता सिपमुलक तालिम प्रदान गरेर मुसहर महिलालाई समेत आयआर्जनमा लगाउनुपर्नेमा जोड दिन्छन् । छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ८ : ०३ बजे