२९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025

गौरीगंजमा जनता समाजवादी पार्टी नेपालद्वारा भूमि विधेयक विरोध प्रदर्शन



गौरीगंज १४, भाद्र / जनता समाजवादी पार्टी नेपाल जिल्ला कमिटी झापाले शनिबार गौरीगंजमा विरोध प्रदर्शन गर्दै सरकारले ल्याएको भूमि विधेयक खारेजको माग गरेको छ । पार्टीले उक्त विधेयकलाई मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम समुदायलगायत सर्वसाधारणका लागि हानिकारक भएको ठहर गर्दै सडकमा उत्रिएको हो ।

गौरीगंज चौक परिक्रमा गर्दै सहभागीहरूले “भूमि र वन बचाउ, मधेशलाई मरुभूमीकरणबाट जोगाऊ” जस्ता नारासहित विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनपछि कोण सभाको आयोजना गरिएको थियो । सभामा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य धिरेन लावती, केन्द्रिय सदस्य रंगलाल राजवंशी, प्रदेश सदस्य पदम लिम्बु, राष्ट्रिय मधेश समितिका अध्यक्ष तुलसी राजवंशीलगायत नेताहरूले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा केन्द्रीय सदस्य लावतीले सरकारले ल्याएको विधेयकले मधेशमा बसोबास गर्ने आम जनता र सीमान्तकृत समुदायलाई भूमि अधिकारबाट वञ्चित तुल्याउने चेतावनी दिए । “यो विधेयक दलित, मुस्लिम, आदिवासी जनजाति र भूमिहीनको जीवनमाथि घातक सिद्ध हुनेछ । यसलाई तुरुन्त फिर्ता लिनुपर्छ,” उनले भने ।

त्यसैगरी, राष्ट्रिय मधेश समितिका अध्यक्ष तुलसी राजवंशीले भूमि विधेयकलाई जनता विरोधी करार गर्दै सरकारले जनभावना विपरीत कदम चालेको आरोप लगाए । उनले भने, “यदि सरकारले यो विधेयक फिर्ता गरेन भने जनता गाउँ–गाउँबाट उठ्ने छन्, जिल्ला–जिल्लाबाट उठ्ने छन्, र सिंहदरबार हल्लाउनेछन् ।”

विरोध प्रदर्शनमा पार्टीका नेता, कार्यकर्ता र स्थानीय नागरिकको सहभागिता थियो । पार्टीले भूमि विधेयक खारेज नगरेसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  ६ : २५ बजे