१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025

गौरीगंज गाउँपालिकालाई झापाली समाज अष्ट्रेलियाद्वारा एम्बुलेन्स हस्तान्तरण



गौरीगंज २५, वैशाख / अन्तर्राष्ट्रिय झापाली समाजको समन्वयमा झापाली समाज अस्ट्रेलियाले आज एक समारोहबीच गौरीगंज गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। गौरीगंज गाउँपालिकासँगको साझेदारीमा झापाली समाज अस्ट्रेलियाले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा गौरीगंज गाउँपालिकाको १० लाख ४ हजार ५० रुपैयाँ र झापाली समाज अस्ट्रेलियाको १० लाख ४ हजार ५० रुपैयाँको आर्थिक सहयोगमा उक्त एम्बुलेन्स प्रदान गरिएको हो । त्यसमा थप गौरीगंज गाउँपालिकाको एम्बुलेन्समा आवश्यक सामाग्री जडान गर्न ३ लाख ७१ हजार ९ सय १७ रुपैयाँ खर्च भएको छ । गौरीगंज गाउँपालिकाको सभा हलमा भएको हस्तान्तरण कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने कुँवर, प्रमुख प्रशासकिय अधिकृत खेम थापा, वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, कार्यपालिका सदस्य अघनु प्रसाद राजवंशी, अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष दिनेश कुमार पोख्रेल , अन्तर्राष्ट्रिय झापाली समाजका महासचिव नवीन पोख्रेल , झापाली समाज अष्ट्रेलियाका शिव कँडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । गाउँपालिकाकी अध्यक्ष राजवंशीले आफ्नो मातृभूमिलाई यो एम्बुलेन्स सहयोग प्रदान गर्ने विदेशमा वस्ने झापालीहरुले गौरीगंज गाउँपालिकालाई गरेको सहयोग अतुलनिय एवं अनुकरणीय रहेको बताइन् । उनले अनेक दुःख गरेर कमाएको पैसा समाजका निम्ति पठाएर झापाली समाजले ठूलो गुण लगाएको भन्दै धन्यवाद दिइन् ।
समाजका महासचिव नवीन पोख्रेलले झापाली समाज अष्ट्रेलियाले झापावासीलाई आवश्यक सहयोग गर्न सधै तत्पर रहेको बताए । उनले निरन्तर सहयोगको यो एक अंश भएको धारणा राखे । बाढी होस् अथवा भुकम्प हरेक विपदमा झापाली समाजले प्रत्यक्षरूपमै जिल्लावासीहरुलाई सहयोग गर्दै आएको महासचिव पोख्रेलले बताए । कोरोना महामारीका बेला ‘एकका लागि एक’ अभियान अन्तर्गत राहत सामाग्री प्रदान, स्वास्थ्य सामाग्री वितरण, विपन्न परिवारका लागि घर निर्माणलगायत थुप्रै सहयोग प्रदान गर्दै आएको महासचिव पोख्रेलले बताए । भिडियो लिङ्क

https://youtu.be/FpBmVVb-qP8?si=qGH5wYP2eIqKVbNJ

उनले यो संगै कचनकवल गाउँपालिका, बुद्वशान्ति गाउँपालिका, कमल गाउँपालिका, गौरीगंज गाउँपालिकालगायतलाई एम्बुलेन्स र विपन्न परिवारलाई घर निमार्ण र कन्काई नगरपालिकालाई शव वहान प्रदान गरेको उनले बताए ।
अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष दिनेश कुमार पोख्रेलले विभिन्न मुलकमा रहका झापालीबासीको आफ्नो कमाईको केही अंश सहयोग गरेर झापा जिल्लाकै विभिन्न क्षेत्रमा सहयोग गर्ने उद्येश्यले संस्था स्थापना गरी सहयोग प्रदान गर्दै आएको बताए । आजै उक्त एम्बुलेन्सको साँचो पालिकाकी अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने कुवँर र प्रमुख प्रशासकिय अधिकृत खेम थापाले संयुक्तरुपमा वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीलाई हस्तान्तरण गरेका थिए । इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक भुवनबाबु खड्का, सशस्त्र सिमा सुरक्षा वल फत्तेपुरका डिएसपी सुमन थापा, झापा उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष रुपक श्रेष्ठ, वडा सदस्यहरु, स्वास्थ्य शाखा गौरीगंजका प्रमुख रामचन्द्र मिश्रलगायतको सहभागिता थियो भने कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख नारायण प्रसाद चँदराले गरेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ३ : ३३ बजे