२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

गौरीगंज बजार अनुगमन, दुई साना उद्योगलाई कार्वाही




गौरीगंज १८, असोज / स्थानिय सरकार गौरीगंज गाउँपालिकाले दशैलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएको छ। गौरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँरको नेतृत्वमा रहेको अनुगमन समिति,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चन्द्रगढीका प्रतिनिधि , झापा उद्योग वाणिज्य संघ, ईलाका प्रहरी कार्यालय गौरीगंज, र संचारकर्मीलगायतको संयुक्त टोलीले आज गौरीगंज गाउँपालिका वार्ड नं ६ स्थित खजुरगाछी बजार र वार्ड नं. ३ स्थित एक पाउरोटी घरेलु उद्योगमा अनुगमन गरेको हो ।
अनुगमन समितिले खाद्यान्न, माछामासू, डुनट र पाउरोटी घरेलु उद्योग लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको हो । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले चाडपर्वलाई लक्षित गरि अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित दर्ता नभएको एक डुनट उत्पादन गर्ने साना घरेल उद्योगलाई कार्वाही गरेको छ । डुनट उत्पादन गर्ने साना उद्योगका सञ्चालक रञ्जन भगतले डुनटमा प्रयोग गर्ने तेल, गुणस्तरीयहिन खाद्यपदार्थ, पकाउने स्थानमा सफासुग्घर नभएको मापदण्ड विपरित कार्य गरेको पाइएपछि अनुगमन समितिले तत्कालका लागि उद्याग बन्द गर्न सुझाएको छ । जबसम्म दर्तागरी कानुनी प्रक्रिया नपुगुञ्जेल उद्योग सञ्चालनमा ल्याउन नहुने भन्दै अनुगमन समितिले उद्योगलाई बन्द गर्न निर्देशन दिएको हो । त्यसैगरी गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित भरोसा पेट्रोल पम्प अगाडी रहेको रोशन पाउरोटी साना उद्योगलाई पनि उद्योग सञ्चालनमा रोक लगाएको छ । दर्ता विना उद्योग सञ्चालन गर्दै आएको, पाउरोटी बनाउने स्थानमा सफासुग्घर नभएको र मापदण्ड विपरित कार्य गरेको पाइएपछि तत्कालका लागि अनुगमन समितिले उद्योग सञ्चालनमा रोक लगाएको हो ।

बजार अनुगमनले व्यवसायीहरूलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले शुरु नभई उपभोत्ताले स्वस्थ्य , स्वच्छ र गुणस्तरिय वस्तु उपभोग गर्न पाओस भन्ने उदेश्य रहेको अनुगमन समितिका संयोजक तथा गाउँपालिकाकि उपाध्यक्ष न्यौपानेले बताईन् । उपाध्यक्ष न्यौपानेले बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण नगरी उपोभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा कारवाहीको दायरामा ल्याउने बताईन् । गौरीगंज गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक पुजन न्यौपाने कँवर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चन्द्रगढीका प्रतिनिधि, योजना शाखाका अधिकृत नारायण प्रसाद चँदरा, अधिकृत विरेन्द्र खड्का, झापा उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महतो, स्थानिय सुरक्षाकर्मीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ६ : ०७ बजे