
डाइनिया / राजवंशी समुदायको हक हित तथा राजनैतिक अधिकार सुरक्षित राख्नको लागि सुनबर्षी नगरबासी राजवंशीहरुको भेलाले राजवंशी समाज समन्वय समिति सुनबर्षी (मोरंग) गठन गरेको छ | चन्द्र प्रसाद राजबंशीको संयोजकत्वमा पटियापाडा स्कुलको प्रांगणमा गरिएको उक्त भेलामा सबै वार्डहरुबाट करिव १०० जनाको उपस्थिति रहेको थियो | भेलामा राजवंशीहरुको हक अधिकार स्थापित गर्नका लागि बिभिन्न राजनीति दलहरुमा रहेका नेताहरु साथै राजवंशी समुदायका लागि सामाजिक कार्यहरु गरिरहेको बिभिन्न संस्थाको प्रतिनिधिहरु समेत उपस्थित रहेका थिए |
राजवंशी समुदायबाट मेयरका आकांक्षी व्यक्तिहरु समेत उपस्थित रहेको भेलाले सर्वसहमतिमा १७ सदस्यीय समन्वय (संघर्ष) समिति गठन गरेको छ | सर्वसहमितिबाट संयोजकमा वार्ड नं. १ बाट श्री चन्द्र प्रसाद राजवंशी रहेका छन् भने ९ ओटै वार्डहरुको प्रतिनिधित्व गर्न सदस्यहरुमा बिर बहादुर राजवंशी २, सहदेव राजवंशी ३, शिवनारायण राजवंशी ३, चैतु राजवंशी ४, बिष्णु नारायण राजवंशी ४, मेघनाथ राजवंशी ४, पुष्पत लाल राजवंशी ४, योगेन्द्र प्रसाद राजवंशी ५, बिक्रम राजवंशी ६, अमिर चन्द्र राजवंशी ६, दर्शन राजवंशी ७, शिवकुमार राजवंशी ७, जय प्रसाद राजवंशी ८, मामृ देवी राजवंशी ८, महेन्द्र राजवंशी ८ र गंगा राजवंशी ९ रहेका छन् |
“अव राजवंशीहरुलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने नेतृत्वहरुको बिकल्पको रुपमा यो समितिको उदय भएको छ र यसले आफ्नो समुदायको हक हितमा काम गर्ने जोसुकै लाई पनि आउने स्थानीय चुनावमा सहयोग गर्नेछौ ” भनि नव निर्वाचित संयोजक श्री चन्द्र प्रसाद राजवंशीले भन्नु भयो | मोरंग जिल्ला विकास समितिका निवर्तमान उपाध्यक्ष समेत रही सक्नु भएका यस समितिको बरिष्ट सल्लाहकार श्री टुल्लु राम राजवंशीले नयाँ संरचना सुनबर्षी नगरपालिकामा राजबंशीहरु बहुसंख्यक रहेको र करिव ८००० मतदाता आफ्नै समुदायको हो भनि जानकारी गराउनु भयो | अधिकारकर्मी श्री अमृत राजवंशीले, सबै क्षेत्रबाट राजवंशीहरु पिडित हुदै आएको भए पनि यो समितिको निर्माण संगै कम्तिमा नगरमा राजवंशीहरुको नेतृत्व रहने कुरामा राजवंशी समुदायमा आशा पलाएको छ भनेर भन्नुका साथै नयाँ चयन भएको समितिलाई सुभकामना समेत व्यक्त गर्नु भयो |








