३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

झापाबाट हराएका कर्म मुर्मु भारतमा भेटिए, चार बर्षमा ९५० हराए, ४२८ मात्र फेला


२४ श्रावण २०७३, सोमबार  

0
Shares

trafficking 1
गौरीगंज / झापाका एक बालक भारतको हरियाणास्थित आश्रममा फेला परेका छन् । सुरुङ्गाको बेलायती बारी घर बताउने १२ वर्षीय कर्म मुर्मु हरियाणाको शान्ति भवन आश्रममा फेला परेका हुन् ।

आश्रमकी गुरुआमा मारियाले जिल्ला प्रहरी कार्यालय झापामा केही दिनअघि टेलिफोन गरी मुर्मुको बारेमा जानकारी दिएकी हुन् । मारियाले मुर्मुको अभिभावक पत्ता लगाइदिन र उनलाई लिन आउन आग्रह गरेको प्रहरीले आज जनाएको छ ।

प्रहरी प्रवक्ता हरि शर्माका अनुसार प्रहरीले टेलिफोनमार्फत मुर्मुसँग आधा घण्टा कुराकानीसमेत गरेको छ । सम्पर्कमा उनले आफ्नो बुबाको नाम माइलो सतार र घर बेलायती बारी नै बताएको प्रहरीले जनाएको छ ।

कार्यालयले प्रहरी परिचालन गरी मुर्मको घर र परिवारको खोजी गरिरहेको जनाएको छ । प्रवक्ता शर्माले हालसम्म मुर्मुको घर र परिवार पत्ता नलागेको बताउनुभयो ।

आमा वैदेशिक रोजगारीमा गएको र बुबाले सौतेनी आमा ल्याएको हुँदा आफू घर छोडेर हिँडेको मुर्मुले प्रहरीसँग बताएका छन् ।

चार बर्षको अवधिमा झापामा ९५० जना महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार हराएका मध्ये ४२८ जना मात्र फेला परेको र ५२२ जना अझै हराइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरि शर्माले १० बर्षदेखि ४५ बर्ष उमेर समूहका महिला तथा बालबालिका हराउने गरेको बताए ।

आर्थिक बर्ष २०६९/०७० मा २११ जना महिला तथा बालबालिका हराएकोमा १०९ जना फेला परेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जसमा हराएका महिला १६१ जना र हराएका बालबालिका ५० जना रहेका थिए ।

त्यसैगरी २०७०/०७१ मा १४४ जना हराएका थिए भने ८३ जना फेला परेको कार्यालयले जनाएको छ । जसमा १३३ जना महिला र ११ जना बालबालिका हराएका थिए । आर्थिक बर्ष २०७१÷०७२ मा ३३० जना महिला तथा बालबालिका हराएका थिए । जसमा १६० जना मात्र फेला परेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । हराएका महिलाको संख्या २२० जना थियो भने बालबालिकाको संख्या ११० जना रहेको थियो ।

अन्य आर्थिक बर्षको तुलनामा यो बर्ष सबैभन्दा बढी महिला तथा बालबालिका हराएको निवेदन परेको प्रवक्ता शर्माले बताए । उनका अनुसार आर्थिक बर्ष २०७२÷०७३ मा १६४ जना महिला र १०१ जना बालबालिका हराएका थिए । तीमध्ये ७६ जना मात्र फेला परेका छन् ।

प्रवक्ता शर्माले हराएका महिला तथा बालबालिकाका अभिभावकले खोजी गरिदिन आग्रह गर्दै प्रहरी कार्यालयमा निवेदन दिने तर फेला परेपछि जानकारी नदिने हुँदा पनि फेला परेकाको संख्यामा कमी देखिएको बताए ।

कतिपय महिला तथा बालिकाहरु दलालको प्रलोभनमा परेर बेचिएका कारण पनि फेला पार्न नसकिएको प्रवक्ता शर्माको भनाई छ । उनका अनुसार सहरी क्षेत्रका भन्दा बढी ग्रामीण क्षेत्रका महिला तथा बालबालिका हराउने गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७३, सोमबार  ५ : ४७ बजे