
दमक ३, पुस/ सत्तारुढ नेकपा भित्र बैचारिक समुह गठन गर्ने क्रमले झापामा तिब्रता पाएको छ । नेकपा भित्र विभिन्न प्रतिष्ठान तथा फाण्डेशनहरुका नाममा कुनै पनि गतिबिधि नगर्ने पार्टी केन्द्रको निर्णय विपरित यस अघि दमकमा मदन भण्डारी फाउण्डेशन गठन भएको थियो ।
सो लगत्तै पुष्पलाल मित्रता केन्द्रका नाममा झापाली कम्युनिष्टहरु अर्को समुह निर्माणमा लागेका छन । सो केन्द्र ( विचार समुह) को जिल्ला समिति गठन गर्ने तयारी समितिले व्यापक तयारी पछि शुक्रबार ( आज) विर्तामोडमा जिल्लास्तरीय भेला आयोजना गरेको छ ।
नेकपा सम्बद्ध नेता कार्यकर्ता, एवं शुभेच्छुकहरुको सो बृहत भेलाले मणी भण्डारीको अध्यक्षतामा भानु दंगाल सचिव रहेको ८५ सदस्यीय पुष्पलाल मित्रता केन्द्र झापा जिल्ला समिति गठन गरेको हो ।
अध्यक्ष भण्डारीका अनुसार जिल्ला समितिको आगामी बैठकले अन्य पदाधिकारीहरु चयन गर्ने तथा जिम्मेवारी बाँडफाँड गर्दै पुष्पलालको विचारलाई कार्यकर्ताहरुमाझ प्रवाह गर्ने बिषयमा निर्णय लिनेछ ।
अहिले ८५ सदस्यीय जिल्ला समिति बनेको छ , आगामी बैठकबाट थप जिम्मेवारी बाँडफाँड गरेर पार्टीका संस्थापक नेता स्व. पुष्पलाल श्रेष्ठको विचारमाथि बहस गरिनेछ – अध्यक्ष भण्डारीले भने । उनले सो केन्द्र गठनको मूल उद्धेश्य पार्टी भित्र पुष्पलालको विचारलाई अघि बढाउनु भएको र यसमा नेकपाकै कार्यकर्ताहरु आवद्ध हुनु स्वभाविक भएको प्रतिक्रिया पनि दिए ।
आज भएको जिल्लास्तरीय सो भेलामा मित्रता केन्द्रका महासचिव एवं नेकपा केन्द्रिय सदस्य रविन कोइरालाको प्रमुख आतिथ्य रहेको थियो भने केन्द्रका प्रदेश अध्यक्ष एवं पार्टी केन्द्रिय सदस्य भास्कर काफलेको विशेष आतिथ्य रहेको थियो । पार्टी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल , झलनाथ खनाल लगायतको एउटा समुह क्रियाशील छ भने पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अर्को समुह सक्रिय छ । ओलीले एक्लौटी रुपमा सरकार सञ्चालन गरेको पार्टीको विधि प्रकृयालाई वेवास्ता गरिरहेको भन्ने चर्को आरोपका बिच जिल्लातहमा नेता कार्यकर्ताहरु पनि समुह समुहमा बाँडिएका हुन । यस अघि सो पार्टी सम्बद्ध युवा विद्यार्थीहरुका पनि अलग अलग समुहले पूर्वमा आआफनो समर्थकहरुको भेला गरेर गुटगत अभ्यासको शुरुवात गरेका थिए । पार्टी अध्यक्ष ओलीले पार्टी कमिटीका निर्णयहरुलाई वेवास्ता गर्दै अघि बढेको निष्कर्ष सो समुहले निकालेको छ । ओलीलाई शैली सच्याएर अघि बढन दबाब दिने उद्धेश्यले पनि सो समुह ओलीको गृह जिल्ला झापामा सक्रिय भएको बताइएको छ ।








