१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजकाे वेवारिसे अस्पताल, १२ घर परिवार उठिवास


६ मंसिर २०७६, शुक्रबार  

0
Shares

20191122_171913
गाेपाल झापाली
दमक (झापा) /  गौरीगञ्ज–६ खजुरगाछीमा करोडौं रुपैयाँको लागतमा अस्पताल भवन बन्छ भनेर उठिबास भएकाहरु बेवारिसे भवन हेरेर सुकुम्बासी जीवन बिताइरहेका छन्।

अस्पतालका लागि प्राप्त भएको जमिनमा १२ परिवार मोहीको रुपमा थिए। उनीहरुलाई उपयुक्त मुआव्जा दिने भनी २०६७ सालमा सो ठाउँबाट हटाइएको थियो। त्यसमध्येकै हुन्, ६० वर्षिय श्याम महतो। बुवा सानुदुखा महतोकै पालादेखि बसोबास गर्दै आएको एक बिघा सात कट्ठा जग्गा आफुहरुले छोडेको उनले बताए। त्यस बेला घर बनाउन दुई हजार रुपैयाँ र दाजुभाइको परिवार १० कट्ठा जमिनमा चित्त बुझाउँदै गर्दा उनलाई आफ्नै घरअघि अस्पताल बन्ला र सजिलो गरी उपचार पाइएला भन्ने आशा थियो। 

‘हाम्रो त बास उठ्यो उठ्यो अहिलेसम्म अस्पताल पनि चलेन,’ उनले भने, ‘यत्रो बिल्डिङ बनेको छ तर पनि यहाँ अस्पताल किन नचलेको हो थाह भएन।’

श्यामको जस्तै गुनासो र अनभिज्ञता छ, ५५ वर्षीय हरिलाल महतोको पनि। बुवा छत्रा महतोकै पालादेखि ६ कट्ठा १३ धुर जग्गा भोगचलन गर्दै आएका उनले १० धुर जमिन पाएर बसिरहेको ठाउँ अस्पतालका लागि छोडेका थिए। तर, अहिलेसम्म धनीपुर्जा र अस्पतालको सेवा नपाउँदा उनलाई पटक्कै चित्त बुझेको छैन। २० वर्षीय शम्भु महतोका बुवा ब्रह्मलालको भने सात वर्षअघि निधन भयो। अहिले कक्षा २ मा पढ्ने बहिनी र आमाप्रतिको दायित्व उनकै हो। १५ धुर जमिनमा घर बनाएर मजदुरी गर्दै आएका उनी पनि घर नजिकै अस्पताल बन्ला र आफुहरु जस्ताले केही काम पाइलाकी भन्ने आशामा छन्। तर, उनीहरु जस्ता स्थानीयको आशा कहिले पूरा हुने हो थाह छैन। 
करोडौ रुपैयाँको लागतमा अस्पतालका लागि बनेको भवनमा ताला लगाइएको छ। प्राङ्गण गौचरण बनेको छ। स्थानीयले भवनअगाडि बाख्रा बस्तु बाँध्ने गरेका छन्। छेउमै धान थन्क्याएको छ। लुगा सुकाउन पनि उपयोग गरिएको छ। तर, बिरामीले साँघुरो भवनबाट सेवा लिन बाध्य छन्।

गौरीगञ्ज प्राथमीक स्वास्थ्य केन्द्र, खजुरगाछीलाई स्तरोन्नति गरी २५ शय्याको अस्पताल सञ्चालनका लागि सो भवन बनाइएको हो। तीन करोड ६२ लाख रुपैयाँको लागतमा १८ महिनामा सक्ने गरी ठेक्का सम्झौता भएको भवन पनि सजिलो गरी बनेन। पटक पटक म्याद थप गर्दै पूरा भएको भवन समेत प्रयोगविहीन हुँदा सेवा दिने स्वास्थ्यकर्मी र बिरामीहरु मर्कामा परेका छन्। भवन गत आर्थिक वर्ष स्थानीय तहलाई हस्तान्तरण गरिए पनि नयाँ भवनमा अस्पताल सर्न सकेको छैन। 
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठका अनुसार अस्पतालका लागि भवन बने पनि घेराबारा तथा केही पूर्वाधार थप गर्नुपर्ने भएकाले सेवा सञ्चालनमा ढिलाई भएको हो। ‘भवन हस्तान्तरण त भइसकेको हो, तर कम्पाउण्ड लगाइएको छैन,’ उनले भने, ‘अस्पतालजस्तो संवेदनशील ठाउँ घेरावाराबिना सञ्चालनमा ल्याउन चुनौती हुने ठानेर केही समय लागेको हो।’ 
दक्षिणी झापाका बासिन्दाका लागि स्तरीय अस्पतालको अभाव रहँदै आएको छ। यहाँका बासिन्दा उपचारका लागि दमक लगायतका अन्य अस्पतालमा पुग्नु पर्ने बाध्यता छ। सुविधा सम्पन्न अस्पताल बनेसँगै सेवा समेत स्तरीय पाउने आशामा स्थानीय रहेका थिए। तर, भवन बने पनि सेवा सुरु हुन नसक्दा स्थानीयले पटकपटक नयाँ भवनबाट सेवा शुरु गर्न आग्रह गर्दै आएको वडा नं. ६ का अध्यक्ष बद्रीनारायण यादवले बताए। 

प्रसूति सेवा समेत उपलब्ध हुने र २४ सै घण्टा इमरजेन्सी सेवा समेत प्रदान गर्ने अस्पताल घेराबाराबिना सञ्चालन गर्नु सुरक्षा र व्यवहारिक दृष्टिकोणबाट पनि उपयुक्त नभएकाले सेवा सञ्चालनमा केही ढिलाई भएको वडाध्यक्ष यादवको भनाइ छ। 
अस्पतालको मुख्य भवनभन्दा केही पूर्व बनाइएको पोस्टमार्टम गृह खण्डहर बनिसकेको छ। खोलाको डिलैमा रहेको भवन स्थानीयको शौचालयको रुपमा परिणत भएको छ।  झ्याल, पर्खाल, ढोकालगायतका जीर्ण बनेका छन्।
थाहाखबरबाट

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ११ : ३४ बजे