८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

झापामा ‘विभत्स हत्या’ : अनुसन्धानमा सघाउँदै ट्रयाकर डग ‘लैला’


१७ भाद्र २०७७, बुधबार  

0
Shares

झापा१७, भदाै/ झापाको शिवसताक्षी ११ स्थित सताक्षीधाम जाने सडकमा स्थानीय २९ वर्षीय गोमनसिंह भनिने गोविन मगरको विभत्स हत्याको अनुसन्धानको लागि धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’ को मद्धत लिइने भएको छ।

मगरको धारिलो हतियारबाट घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा नेतृत्वको प्रहरी टोली पुगेर अनुसन्धान सुरू गरेको छ।

घटनाको थप अनुसन्धानको लागि धरानबाट ट्रयाकर डग ‘लैला’ मगाइएको डिएसपी थापाले जानकारी दिए।

कुकुर शाखाका प्रहरी नायब निरीक्षक दयानन्द श्रेष्ठको कमान्डमा घटनास्थल पुगेपछि लैलाले प्रहरी अनुसन्धानलाई सघाउने छ।

१ नम्बर प्रदेशमा कर्तव्य ज्यान जस्ता संवेदनशील घटनाहरूमा अपराधी पहिचान गर्न ट्रयाकर डग ‘लैला’ प्रयोग गरिन्छ।

घटनास्थलमा अपराधीले छाडेको सुराक सुँघेर पत्ता लगाउन सक्ने क्षमताको ‘लैला’ ले यसअघि विभिन्न पूर्वका जिल्लामा घटेका हत्या तथा बलात्कार जस्ता घटनामा प्रहरीलाई अपराधीसम्म पुर्याउन ठूलो मद्धत गर्ने गरेको छ।

गोमनसिंह मगर मंगलबार साँझदेखि बेपत्ता थिए। राति अबेरसम्म घर नआएपछि परिवारका सदस्यले उनको खोजी सुरू गरेका थिए।

अपराधीसम्म प्रहरी पुगेरै छाड्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

‘अनुसन्धानका कुनै कसूर बाँकी रहँदैन। प्रहरीले अवश्य हत्यारा पत्ता लगाएरै छाड्ने छ,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइरालाले भने।

मगरको शव धारिलो हतियार प्रहार गरेको अवस्थामा बुधबार बिहान १० बजे भेटिएको हो।

शिवसताक्षी नगरको वडा नम्बर ११ मा पर्ने रतुवामाई वृक्षरोपणका वन रक्षकले उक्त शव देखेर प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

घटनास्थल मृतकको घरदेखि करिब २ किलोमिटर र ईलाका प्रहरी कार्यालय झिलझिलेदेखि १ किलो मिटर उत्तर जंगलमा छ।

यो समाचार सेतोपाटी डटकममा विनोद सापकोटाले लेखेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १० : ३८ बजे