५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

झापामा प्रहरीको गोली लागि एकजनाको मृत्यु, कामाटोली तनावग्रस्त


१० भाद्र २०७७, बुधबार  

0
Shares

झापा१० , भदौ । झापा गाउँपालिकामा प्रहरीको गोली लागि स्थानीय वडा नम्बर ३ कामाटोलीका एक जनाको आज मृत्यु भएको छ ।

प्रहरीले गोरु काटेको अभियोग लागेका व्यक्तिलाई पक्राउ गरेपछि स्थनीयसँग भएको विवादमा प्रहरीले चलाउँदा स्थानीय रसिकुल आलमको मृत्यु भएको हो । गोरु काटेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएका ५८ वर्षका अबदुल आलम र ५० वर्षका ताजबुल हकलाई राखेको गाडी अघि बढ्न खोज्दा स्थानीयले कामाटोली बजारमा बाटो छेकेर अवरोध गरेपछि प्रहरीले साँझ ६ः३० बजे गोली चलाएको स्थानीय भनाई छ ।

स्थानीयसँगको झडपमा नेपाल प्रहरीले लगभग १० राउण्ड भन्दा बढी गोली चलाएको स्थानीयले बताएका छन् । कनकाई नगरपालिका सुरुंगाबाट मिस्त्री काम गरेर फर्किएर रमिता हेर्न उभिएका आलममा प्रहरीको गोली लागेको स्थानीय एक प्रत्यक्षदर्शीले बताए ।

साँझ ६ः३० बजे पेटमा दुई गोली लागि गम्भिर घाइते भएका आलमको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा ७ः ४० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीको बाटो अवरोध हटाउने सम्बन्धमा गाउँपालिका अध्यक्ष जयनारायण शाहा, उपाध्यक्ष कुन्तिदेवी बुढाथोकी र स्थानीय राजनीतिक दलका प्रतिनिधिले प्रहरीसँग सम्वाद गरिरहेकै समयमा गोली चलाएको स्थानीयको भनाई छ ।

प्रहरीले सम्यमता नअपनाउँदा गोली चलेको स्थानीयको भनाई छ । आलमको मृत्यु भएपछि कामाटोली बजार तनावग्रस्त बनेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ४ : ४३ बजे