गौरादह १०, जेठ / व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसानकाे बारीमा थाेक बिक्रेता नआउँदा किसान आफैं तरकारी बिक्री गर्न चौक तथा बजार जान थालेका छन्।
काेराेना भाइरस संक्रमणकाे त्रासका कारण बाह्य ब्यापारी आउन नसक्दा किसानले उत्पादन गरेकाे तरकारी बिक्री हुन नसकेकाे हाे।
काेराेना भाइरसकाे जाेखिम नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि नागरिकहरु घरमा बसेर आफुलाई चाहिने तरकारी आफैं फलाउन थालेपछि बजारमा तरकारी किन्न आउनेकाे संख्या घटेकाे छ।
लकडाउनका कारण बजारहरु बन्द भएकाले तरकारी खेती गर्ने किसानहरु निराश भएका छन्।किसानहरु तरकारी बिक्री गर्न समय मिलाएर बिहान बेलुका चौक तथा बजारमा निस्कन्छन्।
तरकारी बिक्री गर्ने स्थानमा ब्यापारीहरुकाे जमात हुन्छ तर ग्राहक भने आउदैन। फाट्टफुट्ट एकदुई जना ग्राहकहरु मात्र आउँदा तरकारी नबिके पछि घरतिर फर्काएर ल्याउनु पर्ने वा गाउँ घरमा निःशुल्क बितरण गरेर हिड्नु पर्ने बाध्यता भएकाे छ। चौक तथा बजारमा तरकारी बिक्री गर्न बसेका किसानहरुका सामु काेही ब्यक्ति झाेला बाकेर आएकाे देखेमा आफ्नाे पसलमा आए हुन्थाे भनेर धुप लगाउने समय भएकाे किसान बताउँछन्।
तरकारी बिक्री गर्न समयमै चौकामा पुगेर लामाे समय सम्म रुघेर बस्ता पनि ग्राहक नआएपछि तरकारीको भारी लान र ल्याउनकाे हैरान भएकाे किसान बताउँछन्। व्यावसायिक दृष्टिकोणले आम्दानीको स्राेत बनाउदै करिब दुई दशक अगाडि देखि तरकारी खेती गर्दै आएका गौरादह नगरपालिका वडा नं -७ का किसान लाेकेन्द्र राजवंशीकाे तरकारी खेतीकाे अवस्था दयनिय भएकाे छ। उनले बारीमा यसबर्ष लौका, फर्सी, घिरौला, झिंगनी, करेला, बाेडी, रायाेसाग र कांक्रा फलाएका छन्। तरकारी फलेर बिक्रीका लागि तयार भएपनि बजार नहुुदा बारीमै कुहिएर गएकाे उनले बताए। बारीमा फलाएकाे तरकारी बिक्री नहुँदा फाईदा त हैन लगानी समेत डुबेकाे उनले बताए।बिगत बर्षहरुमा तरकारी खेती गरेर राम्राे आम्दानी हुने गरेकाले यसै व्यावसायलाई निरंतरता दिएपनि यसबर्ष घाटा भएकाे गुनासाे गरे। तरकारी खरिद गर्न सुरुवाती समयमा बाहिय ब्यापारीहरु आएपनि पछिल्लो समयमा कुनै ब्यापारी नआएकाे र स्थानीय ब्यक्तिहरु फाट्टफुट्ट आएर तरकारी लिँदा अन्य तरकारी बारीमै कुहिन थालेकाे उनले बताए।व्यावसायिक तरकारी खेती गर्ने किसानहरुलाई उन्नत जातकाे बीउ, मल, किटनाशक औषधि, आवश्यक तालिम र बिक्रीका लागि बजारकाे सुनिस्चित गरिनु पर्ने उनकाे भनाई छ।
नेपाल सरकारबाट दिइने अनुदान वास्तविक किसानसम्म नआइपुगेकाे उनकी श्रीमती देवकि राजवंशीले बताइन्। तरकारी खेतीका लागि सरकारले दिने अनुदान सम्बन्धित निकायबाट अनुगमन र निरीक्षण गरि वास्तविक किसानलाई दिनुपर्ने माग गरिन।व्यावसायिक तरकारी खेती गर्दै आएका गौरादह -२ का किसान दुर्गा प्रसाद दहाल दैनिक तरकारी बिक्री गर्न बजार जाने गर्दछन। तरकारी फिजाएर बजारमा बिक्री गर्न बसेपनि ग्राहक नआएपछि कम मुल्यमा गाउँ घरमा छाेड्नु परेकाे उनी बताउँछन्। बिक्री गर्ने उदेश्यले बारीमा फलाएकाे तरकारी बिक्री नभएपछि तरकारी खेती गर्ने मन समेत मरेकाे उनकाे भनाई छ।
उनले यसपटक फर्सी, लौका, साग, करेला र कांक्रा फलाएका छन्। तराईकाे गर्मी हावापानीमा किसानहरुले पहाडी क्षेत्रमा फल्ने इस्कुस पनि फलाएका छन्। तरकारी बिक्री गर्ने अवस्था नहुँदा किसानहरुले नाेक्सानी बेहर्नु परेकाे छ।