कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित

गौरीगंज १०, असार / गौरीगञ्ज गाउँपालिकाको १९ औं गाउँसभा आज सम्पन्न भएको छ । गाउँसभाबाट आर्थिक वर्ष २०८३/८४ का लागि कुल ६० करोड ९४ लाख १७ हजार रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरिएको छ ।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत बजेटमा स्थानीय आवश्यकता, जनअपेक्षा र समग्र विकासलाई केन्द्रमा राख्दै कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
गाउँपालिकाले यस वर्ष कृषि विकास क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिँदै १ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित बजेट छुट्याइएको जनाइएको छ ।
त्यस्तै, शिक्षा विकासका लागि १ करोड ९० लाख रुपैयाँ, स्वास्थ्य तथा पोषण सेवाका लागि १ करोड रुपैयाँ, खानेपानी तथा सरसफाइका लागि २० लाख रुपैयाँ, युवा तथा खेलकुद विकासका लागि १७ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।
गौरीगञ्ज आधारभूत अस्पताल सञ्चालनका लागि ५० लाख रुपैयाँ अनुदान तथा अस्पतालतर्फका योजना तथा कार्यक्रम सञ्चालनका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ४० लाख रुपैयाँ र गाउँपालिकाको गौरवको योजनाका लागि २ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।
गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीद्वारा प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रम गाउँसभाबाट पारित भएको छ । नीति तथा कार्यक्रममा समृद्ध गौरीगञ्ज निर्माणका लागि दिगो विकास, सेवा प्रवाह सुधार र नागरिकमुखी कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
वडागत रूपमा पनि विकास योजनाका लागि बजेट विनियोजन गरिएको छ । जसअनुसार वडा नं. १ का लागि ५७ लाख रुपैयाँ, वडा नं. २ का लागि ५७ लाख रुपैयाँ, वडा नं. ३ का लागि ६० लाख रुपैयाँ, वडा नं. ४ का लागि ३७ लाख ५० हजार रुपैयाँ, वडा नं. ५ का लागि ३७ लाख ५० हजार रुपैयाँ र वडा नं. ६ का लागि ५१ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
गत आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाले ५३ करोड ८६ लाख ९६ हजार ४ सय ४० रुपैयाँको बजेट ल्याएको थियो । यस वर्षको बजेट गत वर्षको तुलनामा वृद्धि भएको छ ।
गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत खेम थापा, प्रशासकीय अधिकृत नारायण प्रसाद चँदर, जनप्रतिनिधिहरू, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।







