२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

गौरीगञ्ज गाउँपालिकाका कर्मचारीमाथि दुर्व्यवहारको प्रयासप्रति कडा आपत्ति



गौरीगञ्ज २७, माघ / गौरीगञ्ज गाउँपालिका वडा नं। ३ निवासी तथा ‘गौरीगञ्ज दर्पण’ नामक सामाजिक सञ्जाल पेजका सञ्चालक मदन गोपाल राजवंशीले गाउँपालिकामा कार्यरत कर्मचारीहरूमाथि दुर्व्यवहार र आक्रमक व्यवहार प्रदर्शन गरेको आरोप लगाइएको छ।

गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी परिवारले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति घोर निन्दा तथा भर्त्सना गरेका छन्। विज्ञप्तिमा जनाइएअनुसार मिति २०८२ साल माघ २७ गते मंगलबार बिहान करिब ११ः३० बजे राजवंशीले गाउँपालिकाको सूचना अधिकारीको कार्यकक्षमा प्रवेश गरी सूचना माग गर्ने बहानामा कर्मचारीको मान–मर्यादामा आँच पुर्‍याउने गरी आक्रमक शैलीमा प्रस्तुत हुँदै गालीगलौज तथा भौतिक आक्रमणको प्रयास गरेको दावी गरिएको छ।

विज्ञप्तिमा राजवंशीले विगतदेखि नै गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूलाई लक्षित गर्दै तथ्यहीन तथा भ्रामक सूचनाहरू सामाजिक सञ्जालमार्फत प्रकाशन गरी राष्ट्रसेवक कर्मचारीको मान, मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याउँदै आएको आरोप समेत लगाइएको छ। यस किसिमको गतिविधिले कार्यालयको कार्य वातावरण बिथोलिएको र कर्मचारीहरूमा असुरक्षाको भावना पैदा भएको उल्लेख गरिएको छ।

कर्मचारी परिवारले राज्यका जिम्मेवार राष्ट्रसेवक कर्मचारीमाथि कार्यस्थलमै गरिएको गैरजिम्मेवार र गैरकानूनी व्यवहार गम्भीर विषय भएको भन्दै स्थानीय कार्यपालिका, स्थानीय प्रशासन तथा सम्पूर्ण सरोकारवाला निकायलाई सुरक्षित र सहज कार्य वातावरण सुनिश्चित गर्न जोडदार माग गरेका छन्।

विज्ञप्तिमा चेतावनी दिँदै भनिएको छ, “यस्ता गतिविधि पुनः दोहोरिएमा कार्यस्थलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू प्रवाह गर्न नसकिने अवस्था सिर्जना हुन सक्नेछ, जसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्नेछ।”

घटनापछि स्थानीय तहमा कर्मचारी सुरक्षा, कार्यस्थलको मर्यादा र सामाजिक सञ्जालमार्फत हुने भ्रामक सूचनाको नियन्त्रणबारे पुनः बहस सुरु भएको छ।

प्रकाशित मिति : २८ माघ २०८२, मंगलबार  २ : ५३ बजे