१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

गौरीगंज गाउँपालिका वार्ड नं. १ को कन्काईको दुःखमा कविता, प्रकृतिसँग साहित्यको संगम



गौरीगंज १०, पुस /
साहित्य चौतारी गौरीगञ्जको आयोजनामा आठौँ ऐतिहासिक शृङ्खला अन्तर्गत “कन्काईको दुःख” शीर्षकमा कविता वाचन तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ। गौरीगञ्ज गाउँपालिका वडा नं. १ स्थित कन्काई खोलाको वगरमा आज आयोजित कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष पुजन न्यौपाने कुँवर प्रमुख अतिथिका रूपमा सहभागी रहनुभयो।

कार्यक्रममा विभिन्न साहित्यप्रेमी कवि तथा कवयित्रीहरूले कन्काई पुल लामो समयसम्म निर्माण हुन नसक्दा स्थानीय नागरिकले भोग्नुपरेको दुःख, पीडा र असहजतालाई कविता मार्फत सशक्त रूपमा अभिव्यक्त गरेका थिए। कवितामा विकासको प्रतीक्षा, राज्यको बेवास्ता र जनताको दैनिकीमा परेको असरलाई भावनात्मक र यथार्थपरक ढंगले प्रस्तुत गरिएको थियो।

साहित्य चौतारी गौरीगञ्जका अध्यक्ष उद्दव प्रकाश गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा रमेश ओझेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष पुजन न्यौपाने कुँवर, निवर्तमान उपाध्यक्ष दिपेन्द्र थापा, वरिष्ठ गीतकार रमेश कोइराला लगायत अतिथिहरूले साहित्यले समाजका आवाज बुलन्द गर्ने माध्यम भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा अर्जुन दङ्गाल, गोविन्द घिमिरे, कल्पना थापा, यादव रिजाल, दीपक सुवेदी, खड्ग थापा, देवेन्द्र नारायण राजवंशी लगायत २० जना कवि–कवयित्रीहरूले कविता वाचन गरेका थिए। स्वागत मन्तव्य प्रवेश श्रेष्ठले राख्नुभएको थियो भने कार्यक्रमको औचित्यमाथि श्याम न्यौपानेले प्रकाश पार्नुभयो।

कार्यक्रममा करिब ६० जनाको उपस्थिति रहेको थियो। साहित्यिक गतिविधिसँगै प्रकृतिको काखमा सम्पन्न वनभोज कार्यक्रमले सहभागिहरूलाई थप उत्साहित बनाएको थियो। कार्यक्रमको मिडिया पार्टनर कोचिला न्युज रहेको थियो।

साहित्य चौतारी गौरीगञ्जले यस्ता कार्यक्रममार्फत स्थानीय समस्या, संवेदना र आवाजलाई साहित्यको माध्यमबाट उजागर गर्दै आएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ८ : २८ बजे