
नारायण राजवंशी
गौरीगंज ४, पुस / गौरीगञ्ज गाउँपालिकाको आयोजना तथा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ र दमक बाल अस्पतालको प्राविधिक सहयोगमा १८ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

गौरीगञ्ज गाउँपालिका वडा नं. ६ स्थित खजुरगाछी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको उक्त शिविरबाट ५१७ जना बालबालिकाले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा बालरोग, सामान्य स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको थियो।
कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, गाउँपालिकाका अधिकृत नारायण चन्द्रा र विरेन्द्र खड्का, नेपाल रेडक्रस सोसाइटी गौरीगञ्जका सभापति यादव रिजाल, खजुरगाछी माध्यमिक विद्यालयका प्रधानाध्यापक गहेन्द्र विक्रम साहलगायतको उपस्थिति रहेको थियो।
स्वास्थ्य परीक्षणमा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (अचिङ्ग अस्पताल) का डा. गेहनाथ दहाल र डा. सुमन दहाल तथा दमक बाल अस्पतालका डा. मुकेश खड्की, डा. सन्तोष खत्री, डा. सविना राई र डा. सरोजलगायत चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए।
गाउँपालिकाले बालबालिकाको स्वास्थ्य अवस्थाको पहिचान र उपचारमा सहयोग पुर्याउने उद्देश्यले यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।









