९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

दिनो राजवंशीको हत्या भएको ११ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेन


१५ पुस २०७७, बुधबार  

0
Shares

बिर्तामोड १५, पुष / बिर्तामोड २ चैतुबारीकी ४२ वर्षिया दिनो राजवंशीको हत्या भएको ११ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा अझै पक्राउ गर्न सकेको छैन ।

गत पुष ४ गते राति दिनोको हत्या भएको थियो । बिरबहादुर राजवंशीकी श्रीमती दिनो हत्या भएको भोलिपल्ट विहान खेतमा मृत फेला परेकी थिइन् । बेलुका अन्दाजी ७ बजे श्रीमानलाई खाना पुर्याउन ती महिला घरबाट हिडेकी थिइन् ।त्यसपछि बेपत्ता भएकी उनको भोलिपल्ट विहान लाश फेला परेको थियो ।

जगत राजबंशीको खेत लिजमा लिई ३ बर्षदेखि उनीहरुले कुखुरा फार्म संचालन गर्दै आएका छन् । त्यही फार्ममा श्रीमानलाई खान पुर्याउन जान्छु भनी खाना लिई हिडेकोमा फार्ममा समेत नपुगेको र राति अबेरसम्म घर फर्की नआएकाले खोजी गर्दा फेला नपरी भोलिपल्ट बिहान घरबाट अन्दाजी ३०० मिटर पश्चिममा लाश फेला परेको थियो । घटना भएको भोलिपल्टदेखि अनुसन्धान जारी राखेको बताउने प्रहरीले हत्यारा अझै पत्ता लगाउन नसकेको हो ।‘त्यस्तो कम्प्लिकेट केश त होइन होला’बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्र संग्रौला भन्छन्,‘प्रहरीले किन हत्यारा पत्ता लगाउन नसकेको हो ।’

घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।स्थानीयहरुले घटनामा परिवारकै हात भएको हुनसक्ने आशंका गरेका छन् ।‘ हामीले अनुसन्धानको दायरालाई साघुँरो बनाउँदै लगेका छौं’ रिजालले भने ,‘गाउँलेको आशंका , प्राप्त सूचना र प्रमाणलाई आधार मानेर केहीदिन भित्रै हत्यारा पक्राउ गर्दैछौं ।’उनले आफूहरु परिणामनजिक पुगिसकेको जानकारी दिए । मृतकको लाशलाई धरानमा लगेर पोष्टमार्टम गरिएको थियो भने प्रहरीले शिकारी कुकुर झिकाएर अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १० : १५ बजे