११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

गौरीगंज बहुमुखी क्याम्पसको ३४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न



गौरीगंज २, पुस/ गौरीगंज गाउँपालिका–३ स्थित गौरीगंज बहुमुखी क्याम्पसको ३४औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी रहनुभएको थियो।

वार्षिकोत्सव समारोहमा रामलाल जी धापी देवी देवी गोल्छा च्यारीटी ट्रष्टद्वारा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो। आर्थिक रूपमा विपन्न तथा मेहनती विद्यार्थीहरूलाई प्रदान गरिएको छात्रवृत्तिले शैक्षिक निरन्तरतामा थप सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा गौरीगंज गाउँपालिकाका उपाध्यक्ष पुजन न्यौपाने कुवँर, गाउँपालिकाका निवर्तमान अध्यक्ष बाबुराजा श्रेष्ठ, समाजसेवी श्याम ढकाल, क्याम्पस प्रमुख भक्तबहादुर भण्डारी तथा निवर्तमान क्याम्पस प्रमुख सर्वतलाल राजवंशीलगायतको उपस्थिति रहेको थियो। संचालक समितिका जेष्ठ सदस्य विष्णु प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा भुपु प्राध्यापक सर्वतलाल राजवंशी र चन्द्रप्रसाद खड्कालाई सम्मान गरिएको थियो ।

वक्ताहरूले क्याम्पसले स्थानीय तहमा उच्च शिक्षाको पहुँच विस्तार गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास र विद्यार्थीमैत्री वातावरण निर्माणमा सबै पक्षको सहयोग आवश्यक रहेको बताएका थिए।

कार्यक्रम विविध सांस्कृतिक प्रस्तुतिसहित उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ५ : १७ बजे