२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

कांग्रेसबाट झापामा हारेका र पहुँचवालाहरुनै उम्मेदवार सिफारिस



दमक/  नेपाली कांग्रेसमा दोश्रो, तेस्रो पुस्ता मानिने नेताहरुले यसपटक पुस्तान्तरणको बहस चलाइरहँदा पार्टीका क्षेत्र र जिल्ला नेतृत्वले भने बर्षौदेखि पार्टीबाट उम्मेदवारको टिकट पाएर पनि चुनाव जित्न नसकिरहेकाहरुलाई उम्मेदवारका रुपमा दोहोरयाई तेहरयाई सिफारिस गरेका छन् ।
यस अघि २०७९ मा सांसद बनेर मन्त्री समेत भइसकेकाहरुको नाम पनि मापदण्ड विपरित उम्मेदवारको रुपमा सिफारिस भएको पाइन्छ ।
राष्टिय सभा सदस्यका रुपमा समेत प्रतिनिधित्व गर्दै आएकी नेतृ सरिता प्रसाइँ क्षेत्र नं २ मा प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस भएकी छिन् ।
उनीसँगै छत्रबहादुर गिरी र सजेश शिवाकोटीको पनि नाम प्रत्यक्ष तर्फ सिफारिस गरिएको छ ।
कांग्रेस झापाका सभापति समेत रहेका नेता देउमान थेवे आफ्नो निर्वाचन क्षेत्र झापा ४ बाट यसपटक पनि उम्मेदवार सिफारिस भएका छन् ।
सो क्षेत्रबाट २०७४ र २०७९ का दुवै निर्वाचनमा टिकट पाएका थेवेले चुनाव जित्न सकेनन् । त्यस अघिका चुनावमा सो क्षेत्रबाट कांग्रेस नेताहरु स्वर्गीय केशवकुमार बुढाथोकी र चक्रप्रसाद बास्तोला निर्वाचित भएर मन्त्री समेत भएका थिए ।
तर थेवे जिल्ला सभापतिको भुमिकामा रहेर पनि पराजित हुँदै आएका छन् । यसपटक पनि थेवे उम्मेदवार सिफारिस भएका छन् ।
उनीसँगै सो क्षेत्रबाट बैगुन्धुराका पुराना बासिन्दा हाल विराटनगर बस्दै आएका जिपी फाउण्डेशनका अध्यक्ष समेत रहेका उत्तम चौलागाइँ र धनमाया चिमरियाको नाम प्रत्यक्ष तर्फ सिफारिस भएको छ ।
कांग्रेस झापाले समानुपातिक तर्फ क्षेत्र नं ५ बाट दुई पटक सांसद बनिसकेकी नेतृ महेन्द्रकुमारी लिम्बुको नाम पुन समानुपातिक तर्फ सिफारिस गरेको छ ।
दमककी स्थायीबासिन्दा लिम्बु कांग्रेस केन्द्रिय सदस्य पनि हुन् । त्यस्ता उम्मेदवारहरु लिएर कांग्रेस चुनावमा जादा चुनावको परिणाम राम्रो आउन नसक्ने भन्दै कांग्रेस वृत्तमानै भित्र भित्रै चर्चा हुन थालेको छ ।
यस्तै कांग्रेस झापा ५ मा लगातार हारको इतिहास बनाइरहेका डा. खगेन्द्र पाण्डव अधिकारी पनि छैठौं नम्बरमा प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस भएका छन् । क्षेत्र नं ५ बाट नयाँ र युवा पुस्ताका नेताहरु, अइन्द्र केरुङ, मेदनी सिटौला,  महिला नेतृ मन्धरा चिमरिया पौडेलसँगै अधिकारीको पनि नाम सिफारिस भएको हो । २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने पार्टी केन्द्रको परिपत्र छ ।
पटक पटक पार्टीले दिएको अवसरलाई उपयोग गर्न सामथ्र्य नराख्ने नेताहरुलाई पहुँच र शक्तिको आडमा गुठगत राजनीतिलाई प्रश्रय दिँदै टिकट दिलाउने र लिने होडबाजीले कांग्रेसजनमा चिन्ता बढाउने विश्लेषण पनि हुन थालेको छ ।
विशेष गरी उम्मेदवारको सिफारिसका बिषयलाई लिएर मातहतका निकायलाई पार्टी केन्द्रले जारी गरेको परिपत्र र पछिल्लो समय कांग्रेस वृत्तमा चलेको पुस्ताहस्तान्तरण को भावना विपरित क्षेत्रीय समितिहरु र जिल्ला समिति समेतले उम्मेदवारहरुको सिफारिस गरेको पाइन्छ ।
परिपत्रमा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले योग्यता पुगेका आकांक्षीमध्येबाट प्रत्यक्ष तर्फ बढीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने र समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै कम्तीमा एक महिलासहित बढीमा २ जनाको नाम समानुपातिकमा सिफारिस गर्नुपर्ने उल्लेख छ । सिफारिस गर्दा सर्वसम्मतिको प्रयास गर्ने र नभए बहुमतबाट निर्णय लिन परिपत्रमा निर्देशन गरिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शुक्रबार  ८ : २५ बजे