झापा, दमक नगरपालिका–१० भालुखोला सानो बाह्रघरे। एक समय स्थानीय बासिन्दाले सानो नाउँ चढेर रमाउने साधारण पिकनिक स्पोटका रूपमा परिचित यो स्थान आज आधुनिक मनोरञ्जन हब बन्दैछ—इन्द्रेणी ताल। हरियाली, शान्त वातावरण र परिवारसहित घुम्न चाहनेका लागि यो ताल अहिले आकर्षणको केन्द्र बनेको छ । मंसिर ९ गते यस तालको भव्य उद्घाटन हुँदैछ, जसले यस क्षेत्रमा पर्यटनको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।

इन्द्रेणी तालको वर्तमान रूप हेर्नेमात्रैलाई विश्वास गर्न मुस्किल पर्छ कि यसको मूल सुरुआत २५–३० वर्ष अगाडि एउटा सानो नाउँ र सामान्य पिकनिक स्पोट बाट भएको थियो। प्रोपाइटर रोहित कुमार राईले आफ्ना पिता मघरधन राई र आमा कृष्ण कुमार राईको सपना साकार पार्दै यो ठाउँलाई आधुनिक बनाउँदै लगेका हुन्। राई भन्छन्, “आमाबुबाले सुरु गर्नुभएको सपनालाई म नयाँ पुस्ताको सोचसहित निरन्तर अघि बढाइरहेको छु । इन्द्रेणी ताललाई पोखराका तालहरू विर्षाउने झै आकर्षक पर्यटकीय स्थल बनाउने मेरो लक्ष्य छ ।”
तालमा अहिले आधुनिक बोट संचालनमा छ, जसले करिब २ किलोमिटर फारकिलो जलाजयमा पर्यटकलाई रमाइलो नौकायन (द्ययबतष्लन) अनुभव दिन्छ । सुरक्षित, स्वच्छ र रमणीय वातावरणमा परिवार, साथीभाइ र प्रेमी–प्रेमिकाले यहाँ बोटिङ्ग गर्दै अविस्मरणीय क्षण कैद गर्न सक्छन्। यसको आकर्षक पक्ष भनेकै—सबै उमेर समूहका व्यक्तिहरूलाई सहज र सुरक्षित बोटिङ्ग सुबिधा प्रदान गरिनु ।
प्रवेश शुल्क प्रति व्यक्ति २०० रुपैयाँ तोकिएको छ भने विद्यार्थी तथा जेष्ठ नागरिकलाई विशेष छुट उपलब्ध गराइन्छ। यसले स्थानीय तथा मध्यम आय भएका परिवारहरूलाई समेत सहज रूपमा मनोरञ्जन लिन प्रेरित गरेको छ ।
आर्मी पृष्ठभूमिबाट आएका राई १०४ भन्दा बढी देश घुमिसकेका व्यक्ति हुन्। विदेशमा देखे–भोगेका मनोरञ्जन मोडललाई उनले आफ्नै गाउँको तालमा उतार्ने सपना बोके । उनका अनुसार दैनिक रूपमा इन्द्रेणी ताल अवलोकन तथा बोटिङ्ग गर्न आउने पर्यटकहरूको घुइँचो लाग्ने क्रम बढ्दो छ । यसले स्थानीय अर्थतन्त्र, रोजगारी र पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान गर्न थालेको छ ।

राईको योजनाअनुसार तालभित्र थप मनोरञ्जन सामग्री, आधुनिक फोटो स्पट, नयाँ पिकनिक क्षेत्र, बालबालिकाका लागि खेल पार्क, र युवा तथा परिवारले मजा लिन सक्ने एड्भेन्चर एक्टिभिटीहरू थपिनेछन्। उनका अनुसार, “इन्द्रेणी ताल केवल घुमफिर गर्ने ठाउँ मात्रै होइन, यो एउटा परिवारमैत्री मनोरञ्जन स्वर्ग बन्नेछ ।”
हरियालीले बुनेको वातावरण, स्वच्छ ताल, आधुनिक बोट र परिवारमैत्री संरचनासहित इन्द्रेणी ताल अहिले पूर्व–नेपालको नयाँ पर्यटन गन्तव्यका रूपमा उदाउँदैछ। प्रकृति, मनोरञ्जन र शान्तिको संगम खोज्ने जो–कोहीका लागि इन्द्रेणी ताल अब अनिवार्य घुम्नैपर्ने ठाउँ बन्न पुगेको छ ।




