२५ भदौ २०८२, बुधबार | Wed Sep 10 2025

गौरादह उपमेयर राजवंशीको घरमा आगजनी र लुटपाट



गौरीगंज २५, भदौ / जेनजी आन्दोलनकै क्रममा गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशीको घरमा अराजक समूहले आगजनी तथा लुटपाट गरेको घटना सार्वजनिक भएको छ । उपमेयर राजवंशीले अराजक र प्रतिशोधको भावना बोकेका केही व्यक्तिहरुले आफ्नो घरमाथि योजनाबद्ध आक्रमण गरेको आरोप लगाएकी छन् ।

उनका अनुसार भाद्र २४ गते दिउँसो आन्दोलन स्थगित भएको घोषणा भए पनि बेलुकी करिब ४ बजे विद्यार्थी उमेरका युवक नभई ठूला उमेरका व्यक्तिहरुको समूह घरमा प्रवेश गरी पेट्रोल छर्की आगजनी गरेका थिए । साथै, घरभित्र रहेको लत्ताकपडा, गरगहना, ग्यास सिलिण्डर र सरसामान समेत लुटपाट गरी लैजाने कार्य भएको उनको भनाइ छ ।

“मेरो श्रीमान लामो समयदेखि बैंकमा काम गर्नुहुन्छ । परिवार पाल्नका लागि निकै कठिनाइ सहेर घर निर्माण गरेका थियौँ । तर, एकै झट्कामा अराजक समूहले हाम्रो सर्वस्व जलाइदियो, घरमा भएको एउटै सामान बाकी रहेन सबै जलेर नष्ट भयो ।” राजवंशीले भनिन् ।

जनताको विश्वास र सामाजिक सेवाप्रतिको प्रतिबद्धताको आधारमा २०७९ सालमा गौरादह नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएको बताउँदै उनले भनेकी छन्, “मलाई जनताले गरिमामय पदमा पठाएपछि निरन्तर जनताको सेवा गर्दै आएको छु । न म कसैसँग एक रुपैयाँ लिएको छु, न त सरकारको भ्रष्टाचारमा संलग्न भएकी छु । तर पनि केही स्वार्थी समूहले बारम्बार ममाथि हमलानै गर्ने गरेका छन् ।”

राजवंशीले जेनजी आन्दोलनलाई आफूले समर्थन गर्ने स्पष्ट गर्दै विद्यार्थीहरुले अघि सारेका माग जायज रहेको उल्लेख गरिन् । तर आन्दोलनकै नाममा लुटपाट, आगजनी र व्यक्तिगत सम्पत्तिमा आक्रमण हुनु लोकतान्त्रिक मूल्य र मान्यताको खिल्ली उडाएको बताइन् ।

सो क्रममा १९ जना विद्यार्थीहरुको गोली लागी ज्यान गएको घटनाप्रति उनले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति संवेदना प्रकट गरिन् । उनले भनिन्, “निर्दोष विद्यार्थीहरुको ज्यान गुमाउनु राष्ट्रकै क्षति हो । मुलुक अहिले संक्रमणकालीन अवस्थामा छ, तर यो परिस्थितिबाट छिट्टै निकास पाउनुपर्छ ।”

उपमेयर राजवंशीले मुलुकमा भइरहेको अशान्ति र हिंसात्मक गतिविधिले लोकतान्त्रिक अभ्यासलाई नै कमजोर पार्ने भन्दै सबैलाई संयमता अपनाउन आग्रह गरिन् । साथै, उनले स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा सार्वजनिक पदमा रहेका व्यक्तिमाथि व्यक्तिगत आक्रोश पोख्नु गलत भएको जनाउँदै यस्ता घटनाको भर्त्सना गरेकी छन् ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ४ : २८ बजे