
झापा २५ , भदौ / हाल देशभर जारी आन्दोलनका क्रममा भएको जनधनको ठूलो क्षति र हिंसात्मक घटनाप्रति नेपाली कांग्रेस झापाले गहिरो दुख प्रकट गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
कांग्रेस झापाका सभापति देउकुमार थेवेले जारी विज्ञप्तिमा अहिलेको विषम परिस्थितिमा पार्टीका नेता–कार्यकर्ता, भातृ संगठन, शुभेच्छुक संस्था तथा आम जिल्लावासीलाई धैर्य र संयमित भई शान्ति–सुरक्षाको वातावरण कायम गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा पार्टी सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणामाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरिएको छ ।
विज्ञप्तिमा जेन–जीले उठाएका कतिपय माग जायज भए पनि सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्र बैंकजस्ता संवेदनशील निकायमा आक्रमण हुनु अत्यन्त दुःखद भएको जनाइएको छ । त्यस्तै, पार्टीको केन्द्रीय कार्यालय, जिल्ला कार्यालय, विभिन्न नगर–क्षेत्र समितिका भवन, पार्टी नेताहरुकै घर, स्थानीय तहका सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीलाई पनि कांग्रेस झापाले आपत्तिजनक करार गरेको छ ।
“हिंसा, तोडफोड र आगजनीले समृद्ध राष्ट्र र समाज निर्माण गर्न सकिँदैन,” विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्र नै हो ।”
कांग्रेस झापाले संवैधानिक अंगहरु सक्रिय रहेको भन्दै लोकतन्त्रप्रेमी जनतालाई हतास र निराश नहुन आह्वान गरेको छ । विज्ञप्तिमा संविधान र कानुनको बाटोबाटै नयाँ सरकार गठन र राजनीतिक निकास सम्भव हुने विश्वास प्रकट गरिएको छ ।
यस्तै, लोकतन्त्रलाई कमजोर पार्ने कुनै देशी वा विदेशी षड्यन्त्र भएमा नेपाली कांग्रेस त्यसको दृढतापूर्वक प्रतिवाद गर्ने चेतावनी दिइएको छ ।
अन्त्यमा, हाल झापामा रहेर पनि प्रत्यक्ष सम्पर्कमा आउन नसकेको अवस्थामा पार्टी छिट्टै आकस्मिक बैठक बोलाई आगामी कार्ययोजना सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी विज्ञप्तिमार्फत दिएको छ ।