१६ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025

कांग्रेसद्धारा धार्मिक पर्यटकीय क्षेत्र साधुहोलीमा वीपिको सम्झना, अस्पतालमा फलफुल



दमक/ प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४३ औं स्मृति दिवसको अवसर पारेर झापाको कमल ५ स्थित आन्तरिक पर्यटनको गन्तव्यको रुपमा बिकास गरिँदै लगेको साधुहोली सिमसार क्षेत्रमा बृक्षारोपणसहित फोहोरमैला व्यवस्थापन सामग्री राखिएको छ ।

नेपाली कांग्रेस कमल गाउँ समितिले कमल गाउँपालिका अध्यक्ष समेत रहनु भएका कांग्रेस कोशी प्रदेश समिति सदस्य एवं महासमिति सदस्य हुकुमसिंह राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वीपि कोइरालाको राजनीतिक, साहित्यीक जिवन र समाजवादका बिषयमा चर्चा पनि गरिएको थियो ।

सो अवसरमा पर्यटकीय गन्तव्यको रुपमा निर्माण गरिँदे गरेको साधुहोली सिमसारको बिकास र संरक्षणका लागि कमल गाउँपालिका र प्रदेश सरकारसँगको समेत साझेदारीमा भइरहेको काम प्रशंसनिय रहेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । गाउँपालिका अध्यक्ष राईले स्थानीय सरकारको तर्फबाट कमल गाउँपालिका भित्रको पर्यटन बिकाससँगै त्यहाँको शिक्षा, स्वास्थ्य कृषि र पूर्वाधारका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि आफू त्यतिमै सन्तुष्ट भएर नबसेको बताउनु भयो । उहाँले नेपाली कांग्रेसको माथिल्लो नेतृत्व र स्थानीय कार्यकर्ताहरुकाबीचमा रहेको खाडललाई पुर्न नेता, कार्यकर्ताहरुले आआफ्नो ठाउँबाट योगदान दिन सक्नु पर्ने धारणा राख्नु भयो । जनताको सेवानै वीपिको लक्ष्य हो भन्ने आफ्नो बुझाई रहेको बताउँदै उहाँले कांग्रेस नेता, कार्यकर्ताहरु कुरामा भन्दा काममा विश्वास गर्ने सोचका साथ अघि बढ्नु पर्ने उल्लेख गर्नु भयो ।

कार्यक्रममा कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीले वीपिको विचार र सिद्धान्तको बहस गरेर मात्रै नबसेको र व्यवहारमा कांग्रेसले बिकास र समृद्धिको खाका सहित अघि बढेको उल्लेख गर्नु भयो । कांग्रेसको नेतृत्वमा कमल गाउँपालिका भित्रका बिकासका योजनाहरु सन्तुलित रुपमा अघि बढेको अनुभूती पार्टीले गरिरहेको बताउनु भयो ।

कार्यक्रममा कांग्रेसका महाधिवेशन प्रतिनिधि राजनबहादुर ढुंगानाले पुँजीवादी सोच राखेर समाजवाद ल्याउन नसकिने हुनाले कांग्रेस नेता, कार्यकर्ताहरुले आफूलाई सच्याउन ढिलाई गर्न नहुने बताउनु भयो । नेता ढुंगानाले समग्र कमलको बिकासमा कांग्रेस नेतृत्व सफल रुपमा अघि बढेको र यत्तिमा मात्रै चित्त बुझाएर बस्नु नहुने बताउनु भयो ।

सो अवसरमा कांग्रेसका पूर्व केन्द्रीय सदस्य दिलिप राई, झापा क्षेत्र नं ५ खका सभापति रवि केसी, नेपाल तरुण दल झापाका अध्यक्ष राजकुमार न्यौपाने, पार्टीका प्रदेश क्षेत्र कका कोषाध्यक्ष बदी साम्पाङ राईसहित विभिन्न तहका नेतृत्वको साथै कमल र दमक क्षेत्रबाट स्थानीयहरु ठुलो संख्यामा सहभागी थिए ।

त्यसैगरी नेपाली कांग्रेस झापा क्षेत्र नं ५ (ख) को प्रदेश सभा क्षेत्रीय समितिको आयोजनामा दमक नगर अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।

प्रदेश सभा क्षेत्रीय सभापति रवि केसीका अनुसार अस्पतालका करिब ५० जना बिरामी तथा कुरुवाहरुलाई फलफुल वितरण गरिएको हो ।

कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बुको प्रमुख उपस्थितीमा आयोजित फलफुल वितरणमा सभापति केसीले सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रमका पार्टीका झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराई, क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीसहित पार्टीका विभिन्न तहका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको जनाइएको छ ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका नेपाली कांग्रेसका संस्थापक कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

यस दिनलाई नेपाली कांग्रेससहित साहित्यीक क्षेत्र सम्बन्धि संघ संस्थाहरुले अत्यन्तै महत्वपूर्ण दिनका रुपमा लिने गर्छन । नेपाली साहित्यका क्षेत्रमा पनि कोइरालाको महत्वपूर्ण योगदान रहेको छ ।

विश्वेश्वरप्रसाद कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो । वि.सं. २०१५ को संसदीय निर्वाचनपछि वि.सं. २०१६ जेठमा उहाँ नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो । प्रधानमन्त्रीत्वकालमा उहाँले बिर्ता उन्मूलन र जग्गा जोत्नेको हुनुपर्छु भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनु भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८२, मंगलबार  ८ : ४१ बजे