४ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025

होम टु होटल, होटल टु हस्पिटलको अवस्थाको अन्त्य गर्न गौरीगंजबाट अभियान शुरु



गौरीगंज ३,साउन /होम टु होटल होटल टु हस्पिटलको अवस्थाको अन्त्य गर्न स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी, स्वस्थ जीवनका लागि स्वस्थ आहार प्रयोग गरौं भन्ने नारासहित गौरीगंज गाउँपालिकामा स्थानीय खाद्य वस्तुको प्रयोग र विद्यालयस्तरीय दिवा खाजा कार्यक्रमबारे छलफल कार्यक्रम सम्पन्न भएको छ।

पाथिभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसन, दमकको आयोजनामा र गौरीगंज गाउँपालिकाको संयोजनमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो। गौरिगञ्ज गाउँपालिकाभित्रका सबै सरकारी विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको उक्त छलफलमा विद्यालयमा प्रदान गरिने दिवा खाजामा स्थानीय अन्न तथा परिकारको प्रयोगलाई प्राथमिकता दिनुपर्ने विषयमा व्यापक छलफल भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुवरले यस्तो कार्यक्रमले विद्यालय शिक्षासँगै बालबालिकाको पोषण सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरेकि छ्न । प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले सानो बजेटले राम्रो काम भएको बताउदै स्थानिय उत्पादन प्रयोगमा सबैको चासो र ध्यान जानु पर्नेमा जोड दिनुभयो । बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव विजय शर्माले गौरीगंजको स्थानीय उत्पादनलाइ प्रबर्द्धन गर्न पालिका र फाउन्डेसनले गरेको कार्य अनुकरणीय भएको बताए । शिक्षा शाखा प्रमुख टन्कप्रसाद खरेल, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र लगायतले आ–आफ्ना धारणा राख्दै यस्तो पहलले बालबालिकाको स्वास्थ्य सुधार र स्थानीय अर्थतन्त्रमा सकारात्मक असर पार्ने उल्लेख गरे।

पाथिभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसनका अध्यक्ष बिष्णुप्रसाद पोखरेलले फाउन्डेसनद्वारा गौरीगंजमा स्थापना गरिएको “गौरी फुड प्रोडक्ट” मार्फत दुई महिनाको अवधिमा ६ जना स्थानीयलाई तालिम दिई सातु, फापरको पिठो, कोदोको पिठो र मकैको चामल उत्पादन सुरु गरिएको जानकारी दिए। उनले पालिकासँग सहकार्यलाई निरन्तरता दिँदै स्थानीय उत्पादन, पोषण, र महिला तथा युवाको रोजगारीसँग सम्बन्धित परियोजनामा सहकार्य विस्तार गरिने घोषणा गरे। कार्यक्रमको सञ्चालन टेकनाथ अर्यालले गरेका थिए भने फाउन्डेसनका सचिव अर्जुन पौडेलसहित संस्थाका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

रसायन तथा बजारमा पाइने अखाद्य सामाग्रीले होम टु होटल होटल टु हस्पिटलको अवस्थाको अन्त्य गर्न फाउन्डेसनले कोशी प्रदेशका पालिकाहरुमा यो बर्ष अभियान चलाउने घोषणा गरिएको छ । कार्यक्रमको समापनमा आयोजक संस्थाले सहभागी सबैप्रति आभार प्रकट गर्दै यस्ता प्रयासहरूबाट स्थानीय उत्पादन र पोषण सुरक्षाको प्रवर्द्धन हुने विश्वास व्यक्त गरिएको थियो।

प्रकाशित मिति : ३ श्रावण २०८२, शुक्रबार  ९ : ४४ बजे