
गौरीगंज २७, जेठ / ‘रक्तदान जीवन दान’ भन्ने नाराका साथ आज विश्व रक्तदाता दिवसको अवसरमा गौरीगंज बहुमुखी क्याम्पसमा आयोजित खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा सम्पन्न कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रम स्ववियुका सभापति रोशन यादवको अध्यक्षतामा तथा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मखना महतो विशिष्ट अतिथिको रूपमा सहभागी थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजवंशीले रक्तदान जस्तो मानवीय कार्यमा युवाहरूको अग्रसरता सराहनीय रहेको बताइन्। उनले भनिन्, “रक्तको आवश्यकता कहिले पर्छ भन्ने थाहा हुँदैन । यस्तो पहलले समुदायमा सहयोग र सद्भाव बढाउँछ।”
त्यसैगरी, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महतोले स्ववियुले सामाजिक उत्तरदायित्वको उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे। “पढाइसँगै यस्ता कार्यक्रमले विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिन्छ,” उनले भने ।
कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, क्याम्पस प्रमुख भत्त बहादुर भण्डारी, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक भुवनबाबु खड्का, नेपाल रेडक्रस सोसाइटी गौरीगंजका सभापति यादव रिजाल, लाइन्स क्लब गौरीगंजका अध्यक्ष संजिव रमण, पूर्व स्ववियु सभापति देबकुमार ताजपुरिया, अनुसन्धान विभाग गौरीगंजका प्रमुख संजय राजवंशी, ट्राफिक प्रहरी कार्यालय गौरीगंजका इन्चार्ज सुदिप बस्नेत, र शस्त्र प्रहरी बलका सई ओम लिम्बु विशेष अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा स्ववियु सचिव डिल्ली राम पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दमक शाखा र नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरीगंजको संयुक्त प्राविधिक सहयोगमा सम्पन्न भएको हो । दुबै संस्थाका स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको सहयोगमा रक्त सङ्कलन गरिएको थियो ।
रक्तदानमा सहभागीमध्ये अधिकांश स्थानीय युवा थिए भने केही पूर्व विद्यार्थी तथा समाजसेवीको समेत उपस्थिति रहेको थियो । सहभागीहरूले रक्तदानपछि आफूलाई गौरव महसुस भएको बताएका थिए।
कार्यक्रमको उद्देश्य युवाहरूमाझ रक्तदानप्रति सकारात्मक सोच विकसित गर्नु, समुदायमा मानवता र सेवाभाव विस्तार गर्नु, र आकस्मिक अवस्थाका लागि रक्तसञ्चय बढाउनु रहेको स्ववियु सभापति रोशन यादवले बताएका छन् ।
समापन मन्तव्यमा स्ववियु सभापति रोशन यादवले भने, “हामीले केवल एक कार्यक्रम सम्पन्न गरेका छैनौं, हामीले जीवन बचाउने कार्यमा हातेमालो गरेका छौं । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रम निरन्तर गर्नेछौं ।”
विश्व रक्तदाता दिवस हरेक वर्ष जुन १४ तारिखका दिन विश्वभर मनाइन्छ । यस अवसरमा विविध कार्यक्रम आयोजना गरिन्छ जसको उद्देश्य रक्तदानको महत्वबारे जनचेतना फैलाउनु र नियमित रक्तदातालाई सम्मान गर्नु हो ।


