२५ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025

सप्तकोशीको गर्भमा समाहित वीरता सशस्त्र प्रहरी जवान हरदेव राजबंशीलाई अन्तिम बिदाइ



गौरीगंज २३, जेठ /सप्तकोशीको छालले गर्जिएका थिए, त्यो दिन। तर, त्यो गर्जन वीरता गुमाउने आवाज बन्यो। उद्धार अभ्यासकै क्रममा सप्तकोशीमा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी जवान हरदेव राजबंशीको शव शुक्रबार फेला परेको छ।

गौरादह नगरपालिका–८ जुरोपानीका ३२ वर्षीय राजबंशी विगत डेढ महिनाअघि मात्र मधेस प्रदेश कार्यालयमा काज सरुवा भएर खटिएका थिए। डुबेको पाँचौं दिन सप्तकोशी ब्यारेजदेखि दुई किलोमिटर दक्षिण तर्फ उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए। राजबंशीसँगै बेपत्ता भएका डोटीका सुरज साउदको भने अझै अवस्था पत्ता लागेको छैन।

चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी तालिम केन्द्रबाट गोताखोर तालिम लिएर आफूलाई अब्बल सावित गरेका राजबंशीको जीवन यही अभ्यासमै समाप्त भयो। गत चैत १८ गते बराह वाहिनी पकलीको स्थापना दिवसमा उनले दौड, पौडी र अनुशासन तीनवटै विधामा उत्कृष्टता देखाएर पुरस्कार जितेका थिए। त्यही दिन उनलाई सशस्त्र प्रहरी बलका महानिरीक्षक ९आइजीपी० राजु अर्यालले ‘उत्कृष्ट अनुशासित कर्मचारी’को रूपमा सम्मान गरेका थिए।

राजबंशीको शव पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको मधेस प्रदेश प्रहरी प्रमुख डीआइजी कृष्ण ढकालले जानकारी दिए। गौरादह ल्याइएका राजबंशीलाई गाउँकै नजिक रहेको खोलामा अन्त्येष्टि गरिएको छ। अन्तिम संस्कारमा प्रहरीको एक टुकडीले राष्ट्रिय धुनसहित सम्मानका साथ सलामी अर्पण गरेको थियो।

श्रीमती र तीन वर्षीया छोरीलाई अलपत्र पारेर सप्तकोशीको गर्भमा समाहित भएका राजबंशीको निधनले परिवार मात्रै होइन, गौरादह नगरवासी, सशस्त्र प्रहरी बल र सम्पूर्ण समाज शोकमा डुबेको छ। गाउँभरका आँखाहरू रसाएका थिए, भक्कानिएका थिए उनका सहकर्मी र आफन्त।

हराइरहेका अर्का जवान सुरज साउदको खोजीका लागि ७० सदस्यीय विशेष गोताखोर टोली परिचालन गरिएको छ। आशंका गरिएको छ कि सप्तकोशी ब्यारेजमा बिछ्याइएका ह्युम पाइपभित्र उनीहरू फसेका हुन्, जहाँबाट निस्कन सम्भव भएन।

राजबंशी अब फर्किने छैनन्। तर, उनको अनुशासन, समर्पण र साहसले सशस्त्र प्रहरी बलभित्र अमिट छाप छोड्नेछ। सप्तकोशीको छालले एउटा वीर छोरा गुमाएको छ — जसको शोक अब सम्पूर्ण राष्ट्रको हो।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शुक्रबार  ११ : ३२ बजे