२३ जेष्ठ २०८२, बिहिबार | Fri Jun 6 2025

‘झोले’ शब्दको बदलिँदो राजनीति



समाचार विश्लेषण

गौरीगंज २१, जेठ / एक शब्द, जसले आलोचना गर्थ्यो — अहिले समर्थनको प्रतीक बनेको छ। झोला बोक्नेलाई …‘झोले’ भन्ने चलन अब आफैलाई चिनाउने माध्यम बन्यो। तर, के हामी विचारको समर्थन गरिरहेका छौं कि व्यक्तिको अन्धपछ्याइमा छुचु भएझैं लागिरहेका छौं ?
गाली हो कि गौरव ? आलोचना हो कि आत्मसम्मान ?‘म झोले हुँ को नारा पछाडि लुकेको छ — भाषिक क्रान्ति कि वैचारिक भ्रम ?
झोलेु भन्ने शब्द, जुन एक दिन Roast थियो, आज Treand बन्न थालेको छ ? के हामी ट्रेन्डमा रमाउँदैछौं ? कि विचारमा गहिरिँदैछौं ?
हालैका दिनहरूमा सामाजिक सञ्जालमा एउटा दृश्य अत्यधिक दोहोरिँदैछ — देशका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि लिएर एमाले शङ्कर नेता पोखरेलदेखि पोलिटब्युरो सदस्य खिमलाल भट्टराई हुँदै उक्त पोस्टर सुहाङ नेम्वाङसम्मले …सेयर ट्रेन्ड’ चलाइरहेका छन् । उनका नेता, कार्यकर्ता र शुभचिन्तकहरूसम्मले ‘म झोले हुँ’ लेखिएको पोस्टरसहितका तस्बिरहरू सार्वजनिक गरिरहेका छन्। एकातिर यसको मजाक उडाउनेहरूको घेरा छ, भने अर्कातिर गर्वका साथ यसलाई आत्मसात् गर्ने लहर सुरु भएको छ।
एउटा समय थियो, जब ‘झोले’ शब्द कसैलाई बोलाउँदा गालीसरह लाग्थ्यो। नेताको झोला बोक्ने, अन्धभक्त, विवेकहीन कार्यकर्ता भनेर बुझिन्थ्यो यो शब्द। तर समयसँगै राजनीतिक समाजमा यो शब्दको पुनर्जन्म भएको छ। झोला बोकेर अघि बढ्नेहरूले आज यही शब्दलाई पहिचान, प्रतिबद्धता र निष्ठाको प्रतीकका रूपमा प्रस्तुत गर्न थालेका छन्। यो केवल ट्रेन्ड हो त ? कि यसमा राजनीतिक उत्तर दिने एउटा नयाँ शैली लुकेको छ ? ‘झोले’ शब्द अहिले एमाले समर्थकको केवल नारा होइन, विचारप्रतिको उत्तर होसामाजिक सञ्जालमा म झोले हुँ भन्दै आएको अभिव्यक्तिलाई हेर्दा लाग्छ – अब आलोचना सहन नसक्ने राजनीतिक संस्कृतिबाट केही फरक किसिमको प्रतिक्रियात्मक चेतनाको विकास भइरहेको छ। आलोचना आएको छ, व्यंग्य गरिएको छ, तर त्यसको उत्तर गालीबाट होइन, व्यंग्यलाई नै उल्ट्याएर दिइएको छ। यो प्रवृत्तिलाई सकारात्मक रूपमा हेरौं भने — अब नेपाली राजनीति केवल ‘गम्भीर बहस’मा मात्रै सीमित छैन, भाषिक शैली, व्यंग्य र आत्मगौरवको संयोजन बन्न थालेको छ। ‘झोले’ शब्द आफैंले राजनीतिक कार्यकर्ताको निष्ठा, संगठनप्रतिको समर्पण र विचारप्रतिको अडान झल्काउन थालेको छ।
सामाजिक सञ्जालले आज भाषाको शक्ति देखाएको छ। एक समय अपमानका रूपमा प्रयोग भएको शब्दलाई उही समुदायले गर्वको प्रतीक बनाउनु भनेको भाषिक रूपान्तरणको उत्कृष्ठ उदाहरण हो। यो एउटा संकेत हो — अब व्यंग्य पनि प्रतिक्रियाको विधि बन्न थालेको छ।
तर सकारात्मक भावनासँगै केही प्रश्न गम्भीर छन्। जब ‘झोले’ शब्दलाई गर्वका रूपमा प्रयोग गरिन्छ, त्यो कत्तिको विचारमूलक हो र कत्तिको व्यक्तिकेन्द्रित ? यदि नेताप्रतिको समर्थन विचार, नीति र सिद्धान्तको आधारमा गरिएको हो भने त्यो लोकतन्त्रको स्वस्थ पक्ष हो। तर यदि त्यो समर्थन अन्धविश्वास र समर्पणमात्र हो भने त्यो चिन्ताको विषय हो।
‘झोले’ शब्दको पुनः प्रयोगले कतै गहिरो बहसलाई ओझेलमा पारिरहेको त छैन ? व्यक्तिपूजालाई प्रोत्साहन दिइरहेको त छैन ? जब व्यंग्यलाई गौरवमा बदलिन्छ, त्यसले आलोचना र विमर्शको ठाउँलाई सानो बनाउन सक्छ।
राजनीतिमा प्रश्न उठाउनु, बहस गर्नु र असहमति जनाउनु लोकतान्त्रिक अभ्यासका आधार हुन्। तर यदि आलोचना उल्टै ‘गर्व’को भाषामा दबाउने अभ्यास बढ्यो भने, लोकतन्त्र भित्रै अधिनायकवाद पलाउन सक्छ।
‘झोले’ शब्द अब गाली मात्र छैन, रणनीति पनि हो। यसले देखाएको छ — राजनीतिमा भाषाको प्रयोग कत्तिको शक्तिशाली हुन्छ। अब आलोचना सहन सक्ने मात्र होइन, त्यसको चतुर जवाफ दिने चेतना पनि पलाउँदैछ।
तर सँगसँगै चेतावनी पनि छ — हामी भाषाको प्रयोगमा होशियार हुनुपर्छ। शब्दको पुनःपरिभाषा विचारभन्दा माथि जान थाल्यो भने, त्यो भाषा होइन, प्रचारको औजार बन्न सक्छ।
अन्ततः दर्शक–श्रोता, पाठक र साक्षर नागरिकको भूमिका महत्वपूर्ण छ। हामी ‘झोला’ मात्र बोकेर हिँड्ने कि त्यसभित्र विचार, विवेक र प्रश्न पनि राख्ने ?
यस प्रश्नको उत्तर हामी सबैको चेतनामा लुकेको छ। झोलेको राजनीतिको मूल्यांकन केवल शब्दले होइन, व्यवहारले हुने हो ।https://youtu.be/9a0w6c1mTpo?si=V_wIscBKRNXmb4PR

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बुधबार  ७ : ५८ बजे