
गौरादह ११,जेठ / नेपालमा कृषि मुख्य पेसा हो भन्ने भनाइ धेरैले सुन्दै आएका छन्। तर वास्तविकतामा खेती गर्ने किसानहरूको अवस्था भने दिनानुदिन कष्टकर बन्दै गएको छ। देशभरका किसानहरू उत्पादनको उचित मूल्य नपाउने, मलखाद्यको अभाव, लागत वृद्धिको मार र सरकारी उपेक्षाको चक्रव्यूहमा फँसिरहेका छन्। यही पृष्ठभूमिमा आज झापाको गौरादह नगरपालिका–८ स्थित चन्दनचोकमा किसानहरूले एक घण्टा चक्काजाम गर्दै आफ्ना चार सूत्रीय मागहरू सार्वजनिक गरेका छन्। कार्यक्रममा गौरादह नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष गणेश राजवंशी, नेपाली कांग्रेसका स्थानिय युवा नेता विधुर सुवेदी, दामाबारी कृषक सुमहका अध्यक्ष डिल्ली पोख्रेल जोरपोल उच्च कृषक समुहका अध्यक्ष इन्द्र प्रसाद पोख्रेल, शिक्षिका लीला सुवेदीले ऐक्यवद्वता जाहेर गरेका थिए ।
आज बिहान ठीक ७ बजेदेखि ८ बजेसम्म सडकमा हलो, जुवा, कोदालो र प्लेकार्ड बोकेर उभिएका करिब ३५ जना किसानहरूले एक घण्टा सडकमै उभिएर आफ्ना समस्या सुनाए।
प्लेकार्डमा लेखिएका नाराहरूले आन्दोलनको सन्देश प्रस्ट रुपमा दिएका थिए —
‘हाम्रो पसिनाको मूल्य चाहियो’, ‘मल दे, बीउ दे, सिँचाइ दे’, ‘खेती घाटामा, किसान बेगानामा’, ‘अब चुप लाग्दैनौं’।
चार सूत्रीय मागहरू के थिए ।
किसानहरूको चार प्रमुख माग निम्नानुसार थिए ।
१. कृषिजन्य उत्पादनको उचित मूल्य निर्धारण गरी न्यूनतम समर्थन मूल्य घोषणा गरियोस्।
२. रासायनिक मलखाद्यको सहज आपूर्ति तथा सहुलियत दरमा उपलब्धता सुनिश्चित गरियोस्।
३. ट्रयाक्टर जोताइ सेवाको अनियन्त्रित मूल्य वृद्धिमा नियन्त्रण गरियोस्।
४. कृषि सिँचाइ महशुलमा राज्यद्वारा छुटको व्यवस्था गरियोस्।

‘किसानको आवाज हामी श्रमिक मात्र होइनौं, हामी देशको मेरुदण्ड हौँ,
हामी श्रमिक मात्र होइनौं, हामी देशको खाद्य सुरक्षाको आधार हौं’ – आन्दोलनमा उभिएका किसान श्याम न्यौपानेले भने – ‘तर हाम्रो समस्या कोही सुन्दैन। हामी सडकमा आउन बाध्य भयौँ।’
किसानहरूका अनुसार खेतमा फलाएको मकै, धान, तरकारीको बजारमा मूल्य निर्धारण गर्ने अधिकार अझै किसानसँग छैन। व्यापारी र बिचौलियाको मनोमानी मूल्यमा बेच्नुपर्ने बाध्यता छ। एक किलो गोलभेंडा फलाउन १५ रुपैयाँ खर्च लाग्छ, बजारमा १० रुपैयाँमा बेच्नुपर्छ। अनि हामीले के खाने ? सहभागी किसान न्यौपानेको गुनासो थियो।
मलखाद्य र बीउको अभाव समस्या दोहोरिन्छ, समाधान हुदैन
कृषिमा उत्पादनको मेरुदण्ड मानिने मलखाद्यको समस्या हरेक वर्ष पुनः दोहोरिन्छ। समयमा नपाइने, गुणस्तरहीन हुने, पाइए पनि कालोबजारी हुने — यी समस्या समाधान गर्ने प्रयास कमजोर देखिन्छ। सहकारीमा नाम टिपाएका हप्ता दिन भयो, मल आउँदैन। निजी पसलमा छ तर दोब्बर मूल्य — किसान नारायण सुवेदीले बताए। सरकारका लागि मल व्यापारभन्दा प्राथमिकताको विषय हुनुपर्थ्यो। तर यहाँ उल्टो छ।
ट्रयाक्टर जोताई लागत बढ्ने, फाइदा घट्ने
अर्को समस्या हो—जोताइ महँगो हुनु। ट्रयाक्टर सेवा प्रदायकहरू अहिले प्रति कट्ठा ८०० देखि १००० रुपैयाँसम्म लिँदैछन्। गत वर्षभन्दा २० प्रतिशतले जोताइ महँगो भएको छ किसान जनक कटुवालले बताए। तर हाम्रो उत्पादनको मूल्य भने घटेको छ। लागत बढ्ने तर आम्दानी घट्ने खेती कसरी चल्छ ? किसान कटुवालको भनाई थियो
सिँचाइ महशुल, किसानको पीठमा अर्को बोझ
सिँचाइका लागि किसानहरूले निजी पम्प, ट्युबवेल, मोटर किन्नुपर्छ। त्यसपछि विद्युत महसुल, मर्मत, इन्धनजस्ता थप खर्चको भार पनि किसानमाथि नै पर्छ। हामी आफैँले पम्प किन्छौं, लाइन तान्छौं, खेतमा पानी हाल्छौं। फेरि पनि सरकारलाई महसुल तिर्नुपर्ने ? यसरी त किसान मरिहाल्छ ? स्थानिय नेता तथा कृषक विदुर सुवेदीको भनाइ छ। उनी माग गर्छन् — कम्तीमा कृषि प्रयोजनका लागि सिँचाइ महशुलमा विशेष छुट दिनुपर्छ।
किसानको चेतावनी, आन्दोलन अझ तीव्र हुन्छ ।
जोरपोल उच्च कृषक सुमहका अध्यक्ष इन्द्र प्रसाद पोखरेलले कार्यक्रममा स्पष्ट रूपमा चेतावनी दिए — यो त सुरुवात हो। सरकारले सुनुवाइ नगरे हामी चन्दनचोक मात्र होइन, गौरादह नगरपालिका भर आन्दोलन चर्काउनेछौं।
उनी भन्छन्, सरकारले हामी किसानलाई नदेखेझैँ गर्छ, तर आज हामी देखाइरहेका छौं — किसान एकजुट हुन थालेको छ।
स्थानीय प्रशासन र जनप्रतिनिधिको भूमिका खै ?
किसानहरूले गुनासो गरेका छन् कि स्थानीय तहका जनप्रतिनिधिहरूले पनि कृषि समस्यालाई गम्भीरतापूर्वक लिएका छैनन्।
निर्वाचन आउँदा सब किसानको खेतमा पुग्थे, अहिले फोन उठाउँदैनन्, किसान जनक कटुवाल भन्छन्। स्थानीय प्रशासनले पनि आन्दोलनका विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन। किसानहरूले भने आन्दोलनलाई औपचारिक ज्ञापनपत्रमार्फत पनि अगाडि बढाउने तयारी गरेका छन्।
मौन सरकार र चिच्याइरहेका किसान
आजको चक्काजाम एक घण्टाको कार्यक्रम थियो, तर यसको सन्देश धेरै लामो छ। किसान अब मौन बस्ने पक्षमा छैनन्। उनीहरूको श्रमको सम्मान, उत्पादनको मूल्य, स्रोत–साधनको पहुँच र राज्यको नीतिगत समर्थनको माग यति लामो समयदेखि बेवास्ता भइरहेको छ कि अब आन्दोलन अपरिहार्यजस्तै देखिएको छ।
यदि यस्ता आन्दोलनहरूलाई सरकारले चाँडै सम्बोधन नगरे, कृषि क्षेत्रबाट युवाहरू टाढा हुनेछन्, र देशले खाद्य सुरक्षाको गम्भीर संकट भोग्नुपर्नेछ। आज चन्दनचोकमा उभिएका ३५ किसान मात्र होइन, उनीहरू करोडौंको आवाज बोकिरहेका थिए— हामी किसान हौं, हामी बेवास्ता होइन, सम्मान चाहन्छौं।