१९ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025

गौरीगंज गाउँपालिका–२ मा भुमिहिन तथा दलित सुकुम्बासीलाई जग्गाको निस्सा वितरण



गौरीगंज ७, जेठ /
गौरीगंज गाउँपालिका वार्ड नं. २ मा रहेका भुमिहिन तथा दलित सुकुम्बासीहरुलाई जग्गाको निस्सा वितरण सुरु गरिएको छ। उक्त कार्यक्रमको शुभारम्भ आज बुधबार वार्ड अध्यक्ष किनालाल राजवंशीले गर्नुभएको हो।

वार्ड अध्यक्ष राजवंशीले विशेषतः जेष्ठ भुमिहिन तथा दलित सुकुम्बासीहरुलाई प्राथमिकताका आधारमा जग्गाको निस्सा हस्तान्तरण गर्नुभएको हो। यस कार्यक्रमले समाजमा पिछडिएका समुदायको जीवनस्तर उकास्ने र उनीहरूको स्थायीत्वमा सघाउने विश्वास लिइएको छ।
२०७८ सालमा निवेदन दिएका भुमिहिन तथा दलित सुकुम्बासी नागकिरहरुले बल्ल जग्गाको निस्सा प्रमाण मात्र प्राप्त गरेका छन् । राष्ट्रिय भूमि आयोगसंगको सम्झौता बमोजिम गौरीगंज गाउँपालिकाले भूमिहिन सुकुम्बासीलाई ऐलानी, पर्ति जग्गा उपभोगगरिरहेको प्रमाण ( निस्सा) वितरण गर्ने कार्य शुरु गरेको छ । वार्ड नं. २ मा जग्गाको निस्सा पाउने १ सय ७५ जना भुमिहिन सुकुम्बासीहरुको नाम प्रकाशित भएको वार्ड सचिव बौवा विश्वकर्माले बताए ।

“वर्षौंदेखि स्थायी बसोबासको अभावमा पीडित रहेकाहरुलाई अब आफ्नो नाममा जग्गा हुनेछ भन्ने कुराले उनीहरूमा आत्मबल र आशा जागेको छ,” अध्यक्ष राजवंशीले भने ।

कार्यक्रम अन्तर्गत पहिलो चरणमा भुमिहिन तथा दलित सुकुम्बासीहरुलाई निस्सा वितरण गरिएको हो भने अन्य लाभग्राहीहरुलाई क्रमशः समावेश गर्दै कार्यक्रम अघि बढाइने बताइएको छ।

निस्सा पाउने एक सहभागीले भने – निवेदन दिएको बल्ल ४ वर्ष पछि जग्गाको निस्सा (प्रमाण) बल्ल पाएका छौ तर लालपूर्जा चाही कहिले पाउने ? कार्यक्रममा वार्ड अध्यक्ष किनालाल राजवंशी,कार्यपालिका सदस्य रिता तामाङ्ग, वार्ड सदस्य नेत्र बहादुर राजवंशी र वार्ड सदस्य रिङ्कुदेवी रामलगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बुधबार  ९ : ३८ बजे