१९ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025

गौरीगंज गाउँपालिकाद्वारा छात्राहरूलाई साइकल वितरण



गौरीगंज ७, जेठ / शैक्षिक पहुँचमा सुधार ल्याउन तथा विद्यालयसम्मको आवागमन सहज बनाउन गौरीगंज गाउँपालिकाले सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्रा र उत्कृष्ट अंक ल्याउने गरिब तथा जेहन्दार छात्र हरूलाई साइकल वितरण गरेको छ।

यस कार्यक्रमअन्तर्गत गौरीगंज गाउँपालिका–२ स्थित आदर्श माध्यमिक विद्यालय कटुवामारीलगायत गाउँपालिकाका अन्य ४ वटा माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई साइकल प्रदान गरिएको हो। गौरीगंज गाउँपालिका वार्ड नं. २ स्थित आदर्श मावि टटुवामारी, वार्ड नं. १ स्थित बालकल्याण मावि कुञ्जिवारी , वार्ड नं. ३ स्थित गौरीगंज मावि र वार्ड नं. ६ स्थित खजुरगाछी मावि खजुरगाछीका कक्षा ९मा अध्ययनरत छात्रा र गरिब तथा विपन्न छात्रहरुलाई २१५ वटा साइकल वितरण गरिएको शिक्षा शाखा प्रमुख टंक खरेलले जानकारी दिएका छन् ।

विद्यालय टाढा भएका कारण दैनिक आवतजावतमा कठिनाइ भोग्दै आएका छात्राहरूको समस्या समाधान गर्न उद्देश्यसहित सञ्चालन गरिएको यो कार्यक्रममा आर्थिक रूपमा कमजोर, पिछडिएका तथा सुदूर बस्तीका छात्राहरूलाई प्राथमिकता दिइएको थियो।

साइकल वितरण कार्यक्रममा बोल्दै गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले भनिन्, “हाम्रो गाउँपालिकाको लक्ष्य नै शिक्षा र महिला सशक्तीकरणमा आधारित छ। छात्राहरू विद्यालयसम्म सहज पहुँच पाउन् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। यो माध्यमबाट पढाइमा नियमितता आउने र सिकाइ स्तरमा पनि सुधार हुने विश्वास लिएको छौं।”

त्यस्तै उपाध्यक्ष पूजन न्यौपानेले भने, “शिक्षामा पहुँच बढाउन र छात्राहरूलाई विद्यालयमै निरन्तर उपस्थित गराउन यो कार्यक्रमले ठूलो सहयोग पुर्‍याउने विश्वास लिएको छौं। हामी शैक्षिक विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजानेछौं।”

कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालयका शिक्षक, स्थानीय जनप्रतिनिधि तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्तो कार्यक्रमले ग्रामीण क्षेत्रमा शिक्षाको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

गाउँपालिकाले आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिँदै अन्य कक्षाका विद्यार्थीहरूलाई समेत समेट्ने योजना बनाएको छ। आदर्श मावि टुवामारीमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने कुवँर, विद्यलायका प्रअ लक्ष्मण राजवंशी, वडा सदस्य नेत्र राजवंशी, निवर्तमान कार्यपालिका सदस्य जेठा मुर्मूलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक फडिन्द्र सिग्देलले गरेका थिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बुधबार  ७ : ३५ बजे