
गौरीगंज २५, वैशाख / गौरीगंज बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले छात्राहरूका लागि सिक्का आधारित अटोमेटिक सेनेटरी प्याड डिस्पोजल र आधुनिक पुस्तकालय निर्माणका लागि बजेट माग गरेको छ ।
आज स्ववियु सभापति रोशन यादवको नेतृत्वमा गएको टोलीले गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र उपाध्यक्ष पुजन न्यौपाने कुवँरलाई माग पत्र बुझाउदै त्यस्तो माग गरेको हो । टोलीले क्याम्पसमा अध्ययन गर्ने छात्राहरुको संख्या दिनानुदिन बढ्दै गएको हुदाँ व्यक्तिगत स्वच्छता र स्वास्थ्य सुरक्षाका लागि स्वचालित सेनेटरी प्याड डिस्पोजल मेसिनको व्यव्स्था गर्नुपर्ने माग राखेका छन् । स्वचालित सेनेटरी प्याड डिस्पोजल मेसिनले क्याम्पसलाई सुरक्षित, स्वच्छ र छात्रामैत्री वातावरण सिर्जना हुने समेत माग पत्रमा उल्लेख गरिएको छ ।
स्ववियु सभापति रोशन यादव र सचिव डिल्लीराम पौडेलको संयुक्त हस्ताक्षरित माग पत्रमा क्याम्पस पुस्तकालयको उचित भौतिक संरचना नहुनु र अध्ययन सामग्रीको अभावले विद्यार्थीको अध्ययनमा समस्या परेको हुदाँ आधुनिक पुस्तकालयको निर्माण र अध्ययन सामग्रीको व्यवस्था गर्न आवश्य वजेट विनियोजन गर्न माग गरेका छन् ।
