१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गौरीगंजद्वारा सामुदायिक विद्यालयको पठनपाठन सुचारु गर्न माग



गौरीगंज १५, वैशाख / नेपाल शिक्षक महासंघले विगत १ महिनादेखि काठमाडौं केन्द्रित आन्दोलनका कारण ठप्प भएको सामुदायिक विद्यालयको पठनपाठन सुचारु गर्न सरोकारवाला निकायहरुसँग माग गरेको छ । आज सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गौरीगंजले एक विज्ञप्ति प्रकाशित गर्दै सामुदायिक विद्यालयको पठनपाठन सुचारु गर्न माग गरेको हो ।
महासंघका अध्यक्ष विष्णु न्यौपाने र सचिव बुधनारायण राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल शिक्षक महासंघको आन्दालनको कारण सामुदायिक विद्यालयको पठनपाठन तथा विद्यालय व्यवस्थापन अस्तव्यस्त भएको उल्लेख छ । विज्ञप्तिमा शिक्षकहरुको संघिय शिक्षा ऐन र पेशागत हकहितका मागहरु यथासिघ्र दुई पक्ष बीच वार्ताको माध्यमबाट सामुदायिक विद्यालयको पठनपाठन सुचारु गर्ने वतावरण बनाउन स्थानिय सरकार गौरीगंज गाउँपालिका र नेपाल सरकारसंग माग गरेको छ । आन्दोलनका कारण मुलुकभर तथा गौरीगंज गाउँपालिका भित्रका सामुदायिक विद्यालयका विद्यार्थीको भविष्य अन्योलमा परेको र विद्यालय व्यवस्थापनमा समस्या आई परेको हुदाँ र सामुदायिक विद्यालयका अभिभावकहरुलेसमेत चिन्ता व्यक्त गरेकोले
सरकार पक्ष र नेपाल शिक्षक महासंघ दुवै पक्षलाई त्यसप्रति गम्भिर हुन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गौरीगंजले आग्रह गरेको छ ।

शिक्षक आन्दोलन अन्तर्गतको शैक्षिक आम हड्तालबाट करिब २८ हजार सामुदायिक विद्यालयहरूका विद्यार्थीको परीक्षा सञ्चालन, नतिजा प्रकाशन र भर्ना प्रक्रिया अवरुद्ध भएको छ ।

लाखौँ बालबालिकाको अधिकार र मनोविज्ञानमा परेको गम्भीर असर र अभिभावकहरूमा छाएको अन्यौलताप्रति महासङ्घले चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ६ : ५२ बजे